February 6, 2025
- ADVERTISEMENT -

बाँदरमुढे घटना : १६ वर्ष पूरा, पीडितको गुनासो उस्तै

June 6, 2021

चितवन / तत्कालिन नेकपा माओवादीले चितवनको माडी बाँदरमुढेमा यात्रुवाहक बसमा बम विस्फोट गराई ३८ जना सर्वसाधारणको हत्या गरेको दुखद् घटना भएको आज १६ वर्ष पुरा भएको छ । सशस्त्र हिंसाका बेला चितवनको माडी कल्याणपुर बाँदरमुढे खोलामा माओवादीले थापेको विद्युतीय धरापमा परी २०६२ साल जेठ २३ गते ३८ जना सर्वसाधारणले ज्यान गुमाएका थिए ।
बम बिस्फोटन घटनामा ७५ जना घाइते भएका थिए । माडीवासीले आजको दिनलाई कालो दिनका रुपमा सम्झेर घटनामा मृत्यु हुनेहरुको सम्झनामा बाँदरमुढेमा वर्षेनी विशेष कार्यक्रमको आयोजना गर्ने गरिएको भए पनि यसपटक कोरोनाका कारण बिगतको जस्तो कार्यक्रम नहुने देखिएको छ । १ सय ५० जना यात्रु बोकेर माडीको बगईबाट नारायणगढतर्फ आउँदै गरेको ना१ख ३२४५ नम्बरको यात्रुबस विस्फोटमा परेको थियो ।
घटना भएको १६ वर्ष पुग्दा पनि घटनाका पीडितहरुले भने हालसम्म उचित राहत पाउन सकेका छैनन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाँदरमुढे पीडितको लागि राहतको प्याकेज ल्याउने बताएको भए पनि हालसम्म सो राहत प्याकेज कहाँ छ भन्ने अन्यौल नै छ । अहिले पनि धेरै घाइते र पीडित बनेकाहरु आफूहरुको उचित व्यवस्थापन र आवश्यक उपचार नभएको गुनासो गरेका छन् ।
घाइतेहरु धेरैले आफूहरु अंगभङ्ग भएकोले सरल र सहज जीवनयापन गर्न कठिन भएको जनाएका छन् । बाँदरमुढे घटनालाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा तात्कालिन नेकपा माओवादीहरूको चर्को आलोचना र बिरोध पनि भएको थियो । बाँदरमुढे घटनालाई तात्कालिन नेकपा माओवादीहरूले र अध्यक्ष प्रचण्डले समेत गम्भीर भूल र ठूलो गल्ती भएको भनी माफी समेत मागेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -