२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

क्रसरले गाउँ नै जोखिममा, अनुमतिबारे सबै बेखबर

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते
Photo : Janaastha.
- ADVERTISEMENT -

काभ्रे / काभ्रेपलाञ्चोक जिल्लामा जताततै क्रसर उद्योग सञ्चालन हुँदा अधिकांश गाउँ र वस्ती जोखिममा परेका छन् । तेमाल गाउँपालिका वडां. १ मा सञ्चालित हृञ्जेन दोर्जे क्रसर उद्योगको कारण स्थानीय वस्ती र सडक जोखिममा परेको हो ।
मापदण्ड विपरित सञ्चालित क्रसर उद्योगको कारण वस्ती जोखिममा परेको गुनासो स्थानीयले समेत गर्न थालेका छन् । क्रसरले जथाभावी ढुङ्गा,माटो उत्खनन् गरेका कारण पाँचखाल हुँदै बोहोरे दोभान,ठूलो पर्सेल,चुखा हुँदै तित्तिरटारसम्म चल्ने सडक अवरुद्ध भएको छ । सडक मार्गमा सुख्खा पहिरो समेत जान थालेपछि वर्षयाममा थप पहिरो जानसक्ने खतरा उत्तिकै बढेको स्थानीय बताउँछन् ।पूरै गाउँपालिका जोखिममा परे पनि पालिकाका अध्यक्ष सलामसिंह तामाङ र स्थानीय नेता तथा कार्यकर्ताले खासै चासो देखाएका छैनन् । गाउँपालिकाको वडा नं. १ का स्थानीयले उक्त क्रसर उद्योगविरुद्ध संग्राम तामाङको अध्यक्षतामा १ सय ८५ सदस्यीय संघर्ष समिति समेत गठन गरेका छन् ।
नेकपा (एमाले) जिल्ला कमिटी सदस्य युवा नेता इन्द्र तामाङले उद्योग सञ्चालन गर्न पाइने तर गाउँलाई नै जोखिम पारेर सञ्चालन गर्न नहुने बताउँदै क्रसरको कारण सामुदायिक वन समेत मासिँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । क्रसर उद्योगले वडालाई विभिन्न सहयोग गरेको अफवाह फैलाइएपनि गाउँलेले त्यसबाट केही सुविधा नपाएको उनले बताए ।सामुदायिक वन मासेर क्रसरको लागि ढुङ्गा निकाल्दा पहिरो गइरहेको छ । पहिरोको कारण दीर्घकालीन रुपमा माथिल्लो गाउँ जोखिममा परेको हो । चुखाबेशी र पर्सेल जाने सडकखण्डमा आवतजावत गर्न समेत निक्कै जोखिम हुन थालेको छ ।
ढुङ्गा,गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ अनुसार माटोजन्य पदार्थ उत्खनन गर्दा वस्ती र भौतिक संरचनामा जोखिम उत्पन्न हुनसक्ने भएकाले जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस आवश्यक हुन्छ । तर उक्त क्रसर उद्योगले कसको अनुमतिमा उत्खनन गरिरहेको छ भन्नेबारे कसैलाई पनि जानकारी नभएको स्थानीयले बताएका छन् ।
मापदण्डअनुसार घनावस्ती र वन क्षेत्रबाट दुई किलोमिटर, राजमार्गबाट पाँचसय मिटर, सडक पुल तथा झोलुङ्गे पुलको एक किलोमिटर तल र पाँच सय मिटर माथि खानी राख्न नपाइने व्यवस्था छ । उक्त मापदण्डभन्दा बाहिर गएर कुनैपनि खालका खानीजन्य पदार्थ उत्खनन् र संकलन गर्न नपाइने व्यवस्था छ । तर उक्त क्रसर उद्योगले पानीको मुहान नै विस्थापित हुने गरि क्रसर सञ्चालन गरेको स्थानीयले बताएका छन् ।केही महिनाअघि काभ्रेका क्रसर उद्योगहरुको अनुगमनको क्रममा प्रदेश सांसदहरु उक्त क्रसर उद्योगमा पुगेका थिए । तर,क्रसर सञ्चालक तामाङले प्रशासनसँग सेटिङ गरेर गुण्डागर्दी गरेको भन्दै उनीहरुको गाडीसमेत बीच बाटोमा केहीबेर रोकिएको थियो ।
क्रसरको कारण किसानहरुको खेतबारीको उत्पादनमा कमी आएको छ भने तामाघाट, बोहोरेदोमन सडकको अवस्था दयनीय बनेको छ । व्यक्तिको निजी जंगल भन्दै सार्वजनिक जंगल मास्दै ढुङ्गा उत्खनन गरी प्राकृतिक स्वरुप नै बिगारेको समेत गाउँलेहरुको आरोप छ । -जनआस्थाबाट ।

- ADVERTISEMENT -