February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मन्त्रालयको भागबन्डा टुंगियो, भदौ १४ मा मन्त्रिपरिषद् बिस्तार गर्ने

August 27, 2021
File Photo

काठमाडौँ / सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबन्डा भएको हो ।
गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले कुल सात, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा एक राज्यमन्त्रीसहित ६-६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ । संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् ।
‘मन्त्रालयको भागबन्डा मोटामोटी सकियो, सम्भवतः १४ गते मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ, कांग्रेसले कुल सात, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले समान रूपमा एक राज्यमन्त्रीसहित ६/६ मन्त्रालय लिने गरी सहमति जुटेको छ, सम्भवतः त्यही दिन नै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ गठबन्धन आबद्ध ती नेताले राजधानीसँग भने ।
२९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा हाल एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् । सरकार बनेको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -