चितवन / नेकपा एकीकृत समाजवादी चितवन निर्वाचन क्षेत्र न. १ को प्रतिनिधि सभा उमेदवारमा पार्टी केन्द्रीय पोलिटब्युरो सदस्य, बागमती प्रदेशको सह–इन्चार्ज कृष्ण प्रसाद शर्मा खनाल सर्वसम्मत चयन हुनु भएको छ । यसैगरी सचिवालय सदस्यहरु हेमन्त सेढाई, चण्डीका ढकालको नाम चर्चामा रहेको छ । प्रदेशसभा सदस्यका लागि १ (क) मा ६ जना र १ (ख) मा १२ जना आकांक्षी देखिएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि ३ जना र प्रदेशसभा सदस्यका लागि ६ जना उम्मेदवार आवश्यक पर्छन् । तर, गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा जाँदा सहज हुने देखिएपछि उम्मेदवारका आकांक्षीहरु बढी देखिएका छन् । चितवनको कुन क्षेत्र कुन दलले पाउने भनेर सत्तागठबन्धनभित्र टुंगो नलागेपनि एकिकृत समाजवादीले आफ्नो तयारी थालेको हो ।
चितवन क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारहरुको संघीय निर्वाचन समन्वय कमिटि मार्फत नाम संकलन गरेको छ ।
यस्तै चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि २ जना आकांक्षी देखिएका छन् । पार्टीका केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठ, स्थायी कमिटि सदस्य साध्यबहादुर भण्डारीको नाम चर्चामा छ । यस्तै प्रदेशसभा सदस्यका लागि २ (क) मा जिल्ला सदस्य रामचन्द्र देवकोटा, सचिवालय सदस्य रामचन्द्र सिलवालको नाम चर्चामा छ । यस्तै २ (ख) मा जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने लब्लीमा नाम चर्चामा छ ।
समानुपातिक तर्फ केन्द्रीय सदस्य पार्वती सिलवाल, जिल्ला उपाध्यक्ष अरुणपीडित भण्डारी, प्रदेश कमिटि सदस्य ज्ञानेन्द्र तिमिल्सिना र केन्द्रीय सल्लाहकार रामप्रसाद श्रेष्ठको नाम चर्चामा छ । चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका आकांक्षीहरुको नामावली संकलन ९ गते बिहिबार हुने जनाइएको छ ।
चितवनका ३ वटै संघीय निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुको नामावली संकलन गर्न गठित संघीय निर्वाचन समन्व्य कमिटिले नाम संकलन गरि जिल्ला कमिटिलाई बुझाउने छ । जिल्लाले प्रदेशमा पठाउने छ । प्रदेशले केन्द्रमा पठाएर केन्द्रले स्वीकृत दिएपछि बल्ल उम्मेदवार टुंगो लाग्नेछ ।
















































