काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारका कामकारबाहीबारे घण्टीमा मतदान गरेका मतदाताले प्रश्न उठाउने अवस्था आउन नदिन पार्टी पंक्ति गम्भीर भएर अघि बढ्नुपर्ने बताएका छन् ।
रास्वपाले शनिबार र आइतबार काठमाडौंमा केन्द्रीय सदस्यहरूका लागि आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृंखलाको समापन गर्दै लामिछानेले सरकार गठन भएको पहिलो वर्ष संस्थागत जग बलियो बनाउन केन्द्रित हुनुपर्ने भएकाले तत्कालै सबै कामको परिणाम देखिन नसक्ने बताए ।
- ADVERTISEMENT -

उनले सरकार अहिले जग बलियो बनाउने चरणमा रहेकाले केही समय धैर्य गर्न आग्रह गरे। ‘सरकारले पहिलो वर्ष जग हाल्नुपरेकाले खासै काम देखिँदैनन्। सय दिन पूरा भएपछि सरकारले अन्तरक्रिया गरेको छ। मन्त्रीहरू पनि झन् सक्रिय हुनुभएको छ,’ उनले भने, ‘सरकार जग बलियो बनाउन लागेकाले धैर्य गरौँ।’
सरकारका कामकारबाहीबारे नागरिकले उठाएका प्रश्नको जवाफ पार्टीले दिनुपर्नेमा पनि लामिछानेले जोड दिए। जनताका गुनासा र अपेक्षा बुझ्न आफू स्वयं मधेश यात्रामा जान लागेको तथा पार्टीका अन्य नेताहरूलाई पनि गाउँगाउँ पुग्न निर्देशन दिइएको उनले बताए।
‘अब म आफैँ मधेशतिर जाँदैछु। म मधेश यात्रामा जान्छु। अन्य साथीहरू गाउँगाउँ जानुहुनेछ। अब धमाधम जिल्ला अधिवेशन हुनेछन्,’ उनले भने।
लामिछानेले पार्टी संगठनलाई जनतासँग थप जोड्दै सरकारका कामकारबाहीबारे प्रत्यक्ष संवाद र जनताको प्रतिक्रिया लिने अभियानलाई तीव्रता दिने संकेतसमेत गरेका छन्।

















































