झापा / झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगीका एक व्यक्तिको बुधबार अपराह्न हत्या भएको भएको छ । दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा बसोबास गर्दै आएका एलबी भनिने ४६ बर्षीय लालबहादुर गुरुङको झापा र इलामको सिमानामा रहेको रतुवाखोलास्थित झोलुंगे पुलमा अज्ञात समूहले खुकुरी प्रहारबाट हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बुधबार अपराह्न साढे ४ बजेतिर उनीमाथि धारिलो हतियार प्रहार हुँदा खुट्टा र हातमा गहिरो चोट लागेको थियो । गम्भीर घाइते अवस्थाका उनलाई झोलुङे पुलबाट प्रहरीले उद्धार गरी अस्पताल पु¥याएको थियो । उनको बिर्तामोडको बिएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गुरुङ यसअघि पटक–पटक जेल सजाय भोगेर केही समयअघि मात्र शरणार्थी शिविरमा आएका थिए । पुरानो रिसइवीका कारण कसैले उनको हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।










































