–राजेश रुम्बा तामाङ
चितवन । डोको–डालो बुन्ने पेशा कच्चा पदार्थको अभाव र उचित बजार मूल्य नपाउँदा सङ्कटमा पर्न थालेको छ । पछिल्लो समय बाँस र निगालोको अभाव सँगसँगै उचित मुल्यको बजार नपाएपछि यो पेशा सङ्कटमा पर्दै गएको हो ।
राप्ति नगरपालिकाबाट तीन–चार किलो मिटर आसपासका सुकुम्बासी वस्तीमा बसोबास गर्दै एक दर्जन बढी तामाङ समुदायले बाँस र निगालोबाट डोको, डालो, नाङ्लो (सुप्पो), चाललो, भकारीलगायत घरायसी प्रयोजनका सामग्री बिक्री गरेर आम्दानी गर्दै आएका छन् । उनीहरु यही पेशाको भरमा जीविकोपार्जन गर्दै आएकोमा अहिले यो पेशा सङ्कटमा पर्दै गएको छ ।
‘बाँस र निगालो जसो तसो जोहो गरेर ल्याउन सकेपनि बजारमा पहिलेको जत्ति पनि मूल्य पाउन छाडेपछि आय आर्जनको बाटो बन्द भएको छ,’ राप्ति नगरपालिका–७ घडेरी डाँडाका सूर्यबहादुर तामाङले भने, ‘नुनतेल खाना धौधौ भएको छ ।’ बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द हुन लागेको उनले पीडा पोखे ।

बाँस र निगालो खोज्न र मङ्हगो मुल्यमा खरिद गरि ल्याउन विभिन्न गाउँ घर चहार्नु परिरहेको छ । ‘एउटा निगालो बाँस रु पाँच्चिस रुपियाँमा खरिद गर्नुपर्छ’, उनले भने, ‘कतिपय बेला निगालो र बाँसका लागि दुई तिन दिन लागेर खोज्नु पर्छ ।’ टाढा टाढासम्म धाएर बाँस र निगालो खोज्न जाँदा पनि नपाउने गरेको पीडा तामाङसँग छ ।
मेहनत र परिश्रमअनुसारको आम्दानी नहुँदा सूर्यबहादुर जस्तै क्यापुन तामाङ र बुद्धिबहादुर गुरुङ लगाएत अन्य पनि पीडित बन्नुपरेको छ । उनीहरु वैकल्पिक पेशा रोज्नका निम्ति न त लगानि गर्न सक्ने अवस्थाका छन् न त खेती किसानी गर्नका लागि पुग्दो खेतबारी नै छन् ।
टाढाबाट कच्चा पदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्च अनुसारको आम्दानी नहुँदा उनीहरु हैरानी खेप्दै आएका छन् । बाँस र निगालोको चोयावाट बन्ने प्रतिडोको थुन्चिलाई एक सय असिदेखि एक सय नब्बेसम्म बिक्री गर्ने गरेका छन् । यस्तै डालो, भकारी, र नाङ्लो तीन सयदेखी तीन सय पचाससम्ममा बिक्री गर्दै आएका छन् ।
यी भेगका अधिकांश युवा गरिबिका कारण ज्याला मजदुरी गर्न बाध्य छन् भने बाँस र निगालोको अभावका कारण यो पेशा छाड्न बाध्य छन् । निर्माण गरिएका सामग्री बिक्री गर्न गाउँ गाउँ डुल्नु पर्ने र नजिकका गाउँवस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भएपनि उचित मूल्य पाउन सकेका छैनन् ।
दिनचर्या जस्तै भएको छ यो पशा गर्न, तर निर्माण गरिएका सामाग्री थुपारेर मात्रै नहुने नजिकको बजारमा लाँदा पसलेहरुले उनिहरु आफू खुशी मुल्या कायम गर्ने हुँदा बरु कुनै सँघ संस्थाले लिइदिई तोकेअनुसार र माग बमोजिम बलियो र भरपर्दो सामग्री उत्पादन तथा निर्माण गर्ने उनीहरुको भनाइ रहेका छन् ।
पछिल्लो समय बाँस र निगालोबाट निर्माण गरिएका सामग्री अन्य शहरमा अभावका कारण धातु र प्लाष्टिकबाट निर्मित सामग्री प्रयोग गर्ने चलन बढ्दै गएको छ ।
- ADVERTISEMENT -

















































