चितवन / गोरखाकी युवा रेखा तामाङ लोप्चन लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । आर्थिक रूपमा पछाडि परेका, विपन्न तथा असहाय नागरिकको जीवनमा सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने सोचका साथ उनी निरन्तर सामाजिक कार्यमा जुटिरहेकी छन् ।
यही सोचलाई व्यवहारमा उतार्दै लोप्चन विशेषगरी देशका विकट तथा पहाडी भूभागमा बसोबास गर्ने चेपाङ, गरिब तथा विपन्न परिवारसम्म पुगेर उनीहरूको समस्या बुझ्ने र आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने अभियानमा सक्रिय छिन् ।
- ADVERTISEMENT -

दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकका लागि शिक्षा, स्वास्थ्य, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनका आधारभूत आवश्यकतासमेत ठूलो चुनौती बन्ने गरेका छन् । यस्तो अवस्थामा आवश्यकताको पहिचान गरी सम्बन्धित परिवारसम्म पुगेर सहयोग गर्नु उनको सामाजिक सक्रियताको महत्वपूर्ण पक्ष बनेको छ ।
लोप्चनको सामाजिक यात्राको अर्को महत्वपूर्ण पाटो आदिवासी जनजाति समुदायसँगको निरन्तर सम्बन्ध हो। उनी आदिवासी जनजाति युवा महासंघसँग आबद्ध रहँदै आएकी छन् । सन् २०२५ मा सम्पन्न महासंघको महाधिवेशनबाट उनी केन्द्रीय सचिवमा निर्वाचित भएकी थिइन् ।
चेपाङ समुदायसँग सम्बन्धित विभिन्न कार्यक्रममा समेत उनको सक्रिय सहभागिता रहँदै आएको छ। सन् २०२४ मा नेपाल चेपाङ संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा उनलाई युवा संघ नेपालकी केन्द्रीय स्थायी कमिटी सदस्यका रूपमा सम्मान गरिएको थियो। समुदाय र संगठनप्रति पुर्याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको बताइएको थियो।
विशेषगरी चेपाङ समुदायका बस्तीमा शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सुरक्षासँग सम्बन्धित चुनौतीहरू लामो समयदेखि रहँदै आएका छन् । चेपाङ समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्दै आएकी लोप्चन स्थानीय तहदेखि विभिन्न सामाजिक संघसंस्थासम्म परिचित हुँदै गएकी छन् ।
सामाजिकसँगै राजनीति सक्रियता
रेखा तामाङ लोप्चन सामाजिक गतिविधिसँगै युवा संगठन तथा राजनीतिक क्षेत्रमा पनि सक्रिय छिन् । सन् २०२५ मा नेकपा (एकीकृत समाजवादी) निकट युवा संगठनमा गठन गरिएको समानान्तर केन्द्रीय कमिटीमा पनि गोरखाकी लोप्चनको नाम समावेश थियो ।
विपन्न तथा असहाय नागरिकका समस्या प्रत्यक्ष रूपमा उठाउने र उनीहरूसम्म पुगेर सहयोग गर्ने प्रयासले उनको सार्वजनिक भूमिकालाई थप फराकिलो बनाएको छ ।
समाजमा सकारात्मक परिवर्तन ल्याउन ठूलो पद वा ठूलो स्रोत नै आवश्यक पर्छ भन्ने छैन भन्ने सन्देश उनको गतिविधिले दिएको छ । आफूले सकेको सहयोग गर्ने, समस्यामा परेका नागरिकको कुरा सुन्ने र आवश्यकता परेको ठाउँमा उपस्थित हुने संस्कार नै सामाजिक सेवाको महत्वपूर्ण आधार बन्न सक्ने उनको सक्रियताले देखाएको छ ।
कृषिमा व्यवसायको थालनी
पछिल्लो समय रेखाले आफ्नै प्रयास र लगानीमा ९ रोपनी जग्गामा कृषि व्यवसायसमेत सुरु गरेकी छन् । देशमै बसेर केही गर्ने उद्देश्यका साथ उनले आफ्नो गृह जिल्लामा औषधीय गुणले भरिपूर्ण मानिने कालो बेसारको व्यावसायिक खेती सुरु गरेकी हुन् ।
हाल उनको फार्ममा कालो बेसारको खेती भइरहेको छ । कृषि व्यवसायमार्फत आफ्नो भविष्य निर्माण गर्ने लक्ष्यसँगै उनले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने प्रयाससमेत गरेकी छन्। उनको फार्ममा गाउँका आर्थिक अवस्था कमजोर भएका आठ जना महिलाले रोजगारी पाउँदै आएका छन् ।
रेखा तामाङ लोप्चनका अनुसार कृषि व्यवसायलाई केवल व्यक्तिगत आम्दानीको माध्यमका रूपमा नभई गाउँमै रोजगारी सिर्जना गर्ने र स्थानीय समुदायको आर्थिक अवस्था सुधारमा योगदान पुर्याउने माध्यमका रूपमा अघि बढाउने उनको उद्देश्य छ।
आफ्नै ठाउँमा सम्भावना खोज्दै उनले सुरु गरेको यो प्रयासले गाउँमै बसेर कृषि क्षेत्रमा केही गर्न चाहने अन्य युवालाई समेत प्रेरणा दिने विश्वास गरिएको छ ।
देशमै बसेर इमानदारीपूर्वक केही गर्न चाहने युवालाई निरुत्साहित गर्नुको सट्टा हौसला, प्रोत्साहन र साथ दिनुपर्ने लोप्चनको भनाइ छ । स्थानीय स्रोत, साधन र जमिनको सदुपयोग गर्दै कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन सके स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिने उनको विश्वास छ । सामाजिक सेवासँगै उद्यमशीलताको बाटो रोजेकी लोप्चनको यो प्रयासले स्थानीय स्तरमै केही गर्ने चाहना राख्ने युवाका लागि उदाहरणसमेत प्रस्तुत गरेको छ ।

















































