March 15, 2025
- ADVERTISEMENT -

भरतपुर महानगरको प्रमुख प्रशासकीयमा राना आउने

December 31, 2022

चितवन / भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छोटो समयमा नै फेरिएका छन् । काम गर्ने वातावरण नभएको भन्दै निवर्तमान प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा सरुवा भएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय गएका छन् ।
उनी भरतपुर महानगरपालिकामा आएको चार महिना भएपनि अधिकांश समय विदा लिएरै विताए । महानगरपालिकाको कार्यालयमा नै आएर जम्माजम्मी एक महिनाजति मात्रै उनले काम गरेको महानगरका कर्मचारी बताउँछन् ।
मेयर रेनु दाहालसँग कुरा नमिलेपछि सापकोटाले भरतपुरमा काम गर्न नरुचाएको स्रोत बताउँछ । उनले महानगरपालिकाले उपलब्ध गराएको सिम पनि लिन मानेनन् । उनी कार्यालय नआएपछि अधिकांश समय निमित्त प्रमुख प्रशासकिय अधिकृतमा रुपमा महेन्द्रप्रसाद पौड्यालले महानगरको प्रशासन सम्हालेका थिए ।
सापकोटाको सरुवा भएपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट सह–सचिव नरेन्द्रकुमार राना भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आउने भएका छन् ।
उनको भरतपुरमा सरुवा भएको कागज आइसकेको महानगरकी सूचना अधिकारी मेनका पण्डितले जानकारी दिइन् । प्रमुख प्रशासकीय अधिकृत राना सम्भवत सोमबार कार्यालयमा हाजिर हुने बताइएको छ ।

- ADVERTISEMENT -