काठमाडौं / रसुवास्थित भोटेकोशीमा आएको बाढीले बैंकिङ क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको छ । बाढीका कारण सो स्थानमा रहेका विभिन्न बैंकका शाखा तथा बैंकिङ पूर्वाधारमा क्षति पुगेको नेपाल बैंकर्स एसोसिएसन संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिएका छन्।
अध्यक्ष कोइरालाका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत केही बैंकरहरू यतिबेला सम्पर्कविहीन छन्। उनीहरूको अवस्था बुझ्न तथा सम्पर्कमा ल्याउन बैंकहरू र सम्बन्धित निकायबाट निरन्तर प्रयास भइरहेको छ ।
- ADVERTISEMENT -

बाढीबाट बैंकका शाखा, कार्यालय तथा अन्य संरचनामा कति क्षति पुगेको छ भन्ने यकिन विवरण भने अहिलेसम्म प्राप्त भइनसकेको उनले बताएका छन् । त्यस्तै, कति जना बैंकर सम्पर्कविहीन छन् वा कति जना प्रभावित भएका छन् भन्नेबारे पनि स्पष्ट तथ्यांक आइनसकेको उनको भनाइ छ ।
बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सम्पर्कमा समेत समस्या रहेकाले बैंकका कर्मचारी तथा शाखाहरूको अवस्थाबारे पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको बताइएको छ।














































