–सन्तोष तामाङ
चितवन । विभिन्न संघसंस्थाहरूले चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बिदाइ गरेको छ । तामाङ पाख्रिन सामाज चितवन, तामाङ पत्रकार संघ चितवनलगायत विभिन्न संघसंस्थाले बुधबार प्रमुख जिल्ला अधिकारी तामाङलाई बिदाइ गरेको हो ।
तामाङ पाख्रिन सामाज चितवनका अध्यक्ष ज्ञानबहादुर पाख्रिनले आफ्नो कार्यकालभर जिल्लामा शान्ति सुरक्षा र अमन चयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको भन्दै प्रमुख जिल्ला अधिकारी तामाङको प्रशंसा गरे ।
तामाङको छोरो, तामाङको शान, समाजसेवी, प्रमुख जिल्ला अधिकारी भएर चितवनमा रहँदा शान्ति, अमन चयन कायम राख्न सफल रहेको अध्यक्ष तामाङले जिकिर गरे ।
प्रमुख जिल्ला अधिकारी तामाङको उज्वल भविष्यको कामना गर्दै आगामी दिनका लागि अझ बढी सफलताको कामना समेत गरे । पाख्रिन समाजले उनलाई मायाको चिनो प्रदान गरेको थियो ।
बिदाइ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले चितवनमा सेवा गर्ने मौका पाएकोमा गर्व महसुस भएको बताए । जिल्लाका विविध क्रियाकलाप तथा आपराधिक घटनाहरूमा थोरै भए पनि सेवा गर्ने मौका पाएकोमा उनले खुसी व्यक्त गरे । उनले आगामी दिनमा समय र मौका मिलेको खण्डमा फेरी पनि चितवन र जनताको सेवा गर्न आफू तयार रहने प्रतिबद्धतासमेत जनाए ।

तामाङ पत्रकार संघ चितवनले पनि बुधबार नै बिदाइ गरेको छ । तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङले प्रमुख जिल्ला अधिकारी तामाङ जिल्लामा हुँदा तामाङसहित सबै समुदायले सुरक्षाको अनुभूति गरेको बताए । चितवनको कर्मभूमिमा रहँदै गर्दा उनले तामाङ पत्रकार संघ चितवनलाई पूर्ण सहयोग गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी तामाङको सहयोग र मायाको लागि संघ सदैव आभारी रहने अध्यक्ष तामाङको भनाइ थियो । कार्यक्रममा तामाङ पाख्रिन समाज केन्द्रका उपाध्यक्ष शम्भुलाल पाख्रिन, कोषाध्यक्ष भद्रबहादुर तामाङ, सदस्य देउबहादुर पाख्रिनलगायतले आगामी कार्यकाल सफलताको कामना गरेका थिए ।
प्रजिअ तामाङको कार्यकाल अवधिमा चितवनमा अपराधिक क्रियाकलापका घटनाहरु भएन । तीनै तहका निर्वाचन शान्तपूर्ण वातावरणमा सफलताका साथ सम्पन्न गराउन उनी सफल भएका थिए । प्रजिअ तामाङ चितवनबाट सरूवा भइ गृह मन्त्रालयमा गएका हुन् भने चितवनमा १६ महिना ७ दिन काम गरेका हुन् ।
- ADVERTISEMENT -


















































