२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

नेपाल तामाङ घेदुङ चितवनमा बाबुलाल तामाङको नेतृत्व

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते
- ADVERTISEMENT -

चितवन / नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनको पाँचौ अधिवेशनबाट अध्यक्षमा बाबुलाल थिङ निर्वाचित भएका छन् । भरतपुरको जिल्ला समन्वय समिति चितवनको सभाहल सम्पन्न उक्त अधिवेशनबाट २१ सदस्यीय रहने गरी कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षहरुमा निलिमा गोङ्बा, पानुमाया तामाङ, नरजङ तामाङ र सचिवमा सन्देश घलान निर्वाचित भएका हुन् भने कोषाध्यक्षमा आइतीमाया तामाङ र सहसचिवहरुमा जितबहादुर तामाङ, डम्बरबहादुर तामाङ छानिएका छन् ।
यस्तै सदस्यहरुमा यमबहादुर तामाङ, बोधबहादुर गोले, अशोक पाख्रिन, धनबहादुर तामाङ, माया तामाङ, बुद्धिमाया तामाङ चयन भएका छन् ।
नवनिर्वाचित सचिव घलानका अनुसार १७ सदस्यीय कार्यसमिति गठन हुनुपर्नेमा हाल १४ सदस्यीय मात्र भएको छ भने रत्ननगर र खैरहनी नगरपालिकाबाट ३ जनालाई कार्यसमितिको पहिलो बैठकबाट पूर्णता दिने जानकारी दिए ।
घेदुङको संघीय विधानतः २१ सदस्यीय कार्यसमिति गठन गरिने प्रावधान रहेको छ भने तत्काल १७ सदस्यीय मात्र कार्यसमिति गठन गरिने उनको भनाइ छ । उनले थप ४ जना भने तामाङ समुदायबाट बुद्धिजीवी सर्कलका व्यक्तित्वहरुलाई मनोनयन गरिने बताए ।
नवनिर्वाचित अध्यक्ष थिङले संस्थागत विकास र उन्नतिका लागि मिडियामैत्री बनाउँदै तामाङ समुदायको समाज रुपान्तरणमा जोड दिने बताए । समुदायमा तामाङको संस्कार, संस्कृति, धर्म, भाषा, लिपि र भेषभूषाको प्रचार प्रसार ब्यापक बनाउने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज सोम गोले तामाङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा राप्ती नगरपालिका निवर्तमान उपमेयर इमानसिंह लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका राजेश रुम्बा लामा, फोनिज चितवनका अध्यक्ष रमेश राना मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल तामाङ घेदुङ चितवनका कार्यवाहक अध्यक्ष मैतसिंह घिसिङको सभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -