April 26, 2025

२९औं तामाङ प्रसारण दिवस, ‘छोटा पटका बडा धमाका’

August 19, 2023
- ADVERTISEMENT -

चितवन / तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले २९औं तामाङ प्रसारण दिवस मनाएको छ । वार्षिक कार्यक्रम अन्तर्गत भरतपुरमा शुक्रबार २९औं तामाङ प्रसारण दिवस मनाएको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
कार्यक्रममा तामाङ पत्रकार संघका संघीय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि उर्गेन तामाङले ब्यानर वाचन गरेर उद्घाटन गरेका हुन् । प्रमुख अतिथि तामाङले जिल्ला शाखा चितवन छोटा पटका बडा धमाकाको संज्ञा दिएका छन् ।
संघ स्थापना कालदेखि निरन्तर वार्षिक कार्यक्रम सँगसँगै थप नौलो कार्यक्रम गर्दै आएकोले भावी दिनमा पनि यो टिम अझ बढी सशक्त हुँदै अगाडि बढ्ने उनको भनाइ थियो । उनले संघीय समितिबाट आवश्यक पर्ने जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका उपाध्यक्ष राजेश रुम्बाले जनजाति पत्रकारहरु पछिल्लो समय मिडियामा घट्दै गएको बताए । पछिल्लो समय मिडिया हाउस धरासायी बन्दै जानु राज्यले तोकेको पारिश्रमिक दिन नसक्नु यसको मुख्य कारण भएको उनको भनाइ थियो ।
विसं २०५१ साल भाद्र १ गते रेडियो नेपालमा तामाङ भाषाको कार्यक्रम संचालन भएको हो भने सोही समयदेखि तामाङ पत्रकार संघले केन्द्रदेखि जिल्लासम्म तामाङ प्रसारण दिवस मनाउँदै आएको छ । प्रसारण दिवसलाई चाडपर्वको रुपमा पनि लिँदै आएको संघले जनाएको छ ।
कार्यक्रमका सभापति तथा संघका अध्यक्ष बबिलाल तामाङले जनजातिलाई मिडियामा टिकाउन मुश्किल परेको बताए । मिडियामा जनजातिलाई टिकाई राख्न राज्यले नै पहल गर्नुपर्ने उनको जिकिर थियो ।
उनले तामाङ समुदायलाई लक्षित कार्यक्रम ‘तामाङ भाषा प्रशिक्षण’ पुनः संचालनको लागि पहल गर्ने बताए । यसअघि सम्पन्न कार्यक्रम प्रभावकारी भएको र प्रशिक्षार्थीहरुबाट पुनः गर्नुपर्ने माग भएकाले निकट भविष्यमा ‘तामाङ भाषा प्रशिक्षण’लाई निरन्तरता दिन लागिएको उनले भने ।
कार्यक्रममा संघका सहसचिव सन्तोष तामाङले स्वागत मन्तव्य दिएका थिए भने अन्य सदस्य युवक तामाङ, तामाङ भाषाका प्रशिक्षार्थीहरु हेमा तामाङ र सन्चिता तामाङले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम संघका अध्यक्ष बबिलाल तामाङको सभापतित्वमा सम्पन्न भएको हो भने सचिव प्रकाश तामाङले संचालन गरेका थिए ।

- ADVERTISEMENT -