September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेकपा एसको ‘समाजवादी जागरण अभियान’ : ‘स्वदेशमै रोजगारी भएमा गरिबी उन्मुलन हुन्छ’

October 7, 2023

चितवन / नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस)ले चितवनको भण्डारा र चौबिसकोठीमा कोण सभा गरेको छ । नेकपा एसले देशव्यापी रुपमा असोज १४ गतेदेखि चलाएको ‘समाजवादी जागरण अभियान’ को टोलीले शुक्रबार चितवनको भण्डारा र चौबिसकोठीमा कोण सभा आयोजना गरेको हो ।
कोणसभा बोल्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले गरिबी उन्मुलनको लागि स्वदेशभित्रै रोजगारको अवस्था सिर्जना गर्नुपर्ने बताए ।
पार्टीको जागरण अभियानका क्रममा शुक्रबार चितवन आइपुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘देशमा गरिबी उन्मुलन गर्ने हो भने प्रत्यक युवालाई स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्न सरकार तयार हुनुपर्छ ।’
त्यसका लागि हाललाई कृषिमा जोड दिनुपर्ने उनले बताए । ‘कृषिमा सरकारले जुन खालको प्रोत्साहन गरिरहेको छ । उत्पादन भइसकेपछिको बजारीकरणमा सरकारको ध्यान पुग्न सकेको छैन,’ उनले भने, ‘उत्पादन गरेर बजार पनि नपाउने, पायो भने पनि किसानले उचित मूल्य नपाउने जोखिम कायमै रहेको हुँदा उत्पादनमा प्रोत्साहन गर्ने सरकारले बजारीकरणमा पनि ध्यान दिनु पर्छ ।’
गठबन्धनको सरकार भए पनि जनतामार्फत राज्यलाई सचेत गराउन जागरण अभियान चलाएको बताउँदै उनले अगाडि भने, ‘देशमा महँगीले सीमा नाघिसक्यो । त्यसतर्फ सरकारले चासो देखाएर मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्छ।’ जनताको समस्या बुझेर मूल्यवृद्धि खारेज गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सडकबाटै आग्रह गरे।
आफूले सरकारलाई खबरदारी गरिरहँदा आफ्नै दलका नेता तथा कार्यकर्ताले आफ्नो कर्तव्य भुल्न नहुने पनि उनले सुझाए। त्यसका लागि पार्टीका तीनै तहमा निर्वाचित जनप्रतिनिधिले आमजनताले स्वीकार्ने गरी नमुना काम गर्नु आवश्यक रहेको उनले बताए। ‘तपाईँहरू यस्तो नमुना काम गर्नुस् कि, जसबाट आमजनताको दलहरूप्रतिको असन्तुष्टि हराएर जाओस् ।’
उनले पार्टीलाई बलियो बनाउन सबैभन्दा तल्लो तहबाटै कसरत आवश्यक रहेकोले पार्टी सुदृढीकरणको लागि वडा तहबाटै जनताको हरेक समस्या समाधान गर्ने गरी काम गर्न पार्टी पङ्क्तिलाई आग्रह गरे ।