चितवन / स्वदेश र विदेशका कृषि वैज्ञानिकहरूको पहिलो सम्मेलन चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) बिहीबारदेखि विश्वविद्यालयमा सुरु भएको हो ।
कार्यशालाको राष्ट्रियसभा सदस्य विमला राई पौडेलले उद्घाटन गरेकी हुन् । मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यशालाको उद्घाटन गर्दै नेत्री राईले कृषिको अध्ययन–अनुसन्धानमा युवापुस्ता आउनुले सकारात्मक सन्देश प्रवाह गरेको बताइन् । कृषि क्षेत्रमा प्रयोग भएका प्रविधि र अहिले बजारमा आएका प्रविधिको अन्तरका कारण पनि किसानले आफ्ना समस्या समाधान गर्न नसकेको बताइन् ।
- ADVERTISEMENT -

राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष रामकुमार फुँयालले नेपालमा कृषि क्षेत्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्दै आएको बताए । कृषि क्षेत्रका आयोजनालाई आयोगले प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए ।
बागमती प्रदेश सरकारका योजना आयोगका उपाध्यक्ष डा नरविक्रम थापाले कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि क्षेत्रमा नयाँ खोज गर्न जरुरी भएको बताए ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, विश्वविद्यालयका कृषि सङ्कायका डिन प्रा अर्जुनकुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त गणेशराज जोशी, एसियाली विकास बैंकका रुडी भेन डायल, एएसडिपीका कार्यक्रम निर्देशक वासुदेव काफ्लेलगायतले नेपालमा कृषि क्षेत्रमा देखिएका समस्या र समाधानका लागि सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीको अध्यक्षतामा सुरु भएको सम्मेलनमा देश– विदेशका तीन सय वैज्ञानिक सहभागी भएका छन् ।
कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक ऋषिराम कट्टेलका अनुसार सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, क्यानडा, ताइवानलगायत देशका कृषि वैज्ञानिकले एक सय १३ वटा कार्यपत्र प्रस्तुत गर्ने छन् । यसैगरी एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थासहित विभिन्न दातृ निकायका प्रतिनिधि सम्मेलनमा सहभागी भएका हुन् ।
सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरूद्वारा कृषि, वन, पशुपालन, भेटेरेनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी कार्यपत्र प्रस्तुति गरिने छ । जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्र प्रस्तुत गरिने छ ।
सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक सहभागी छन् । यसैगरी कृषि अनुसन्धानमा सरोकार राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घसंस्थाका प्रतिनिधि र प्राध्यापकको सहभागिता छ ।
कर दिवसमा तीन करदाता सम्मानित
बाह्रौँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० का अवसरमा उत्कृष्ट तीन करदातालाई सम्मान गरिएको छ । आज सम्मानित हुनेमा सेवातर्फ एनपिआई नारायणी सामुदायिक हस्पिटल, उद्योगमा एपोलो पेन्ट्स प्रालि र व्यापारतर्फ ग्याप मार्केटिङ छन् ।
कर दिवसका अवसरमा १२औँ पटक सम्मानित गर्दै गर्दा एनपिआई नारायणी सामुदायिक अस्पताल नवौँपटक सम्मानित भएको हो । प्रमुख कर अधिकृत निरन भट्टराईले कर लिने दिने बानीको विकास गर्न सबैलाई अनुरोध गरे ।
लक्ष्यअनुसार कर सङ्कलनका लागि अनुगमन तीव्रताका साथ गर्नुपर्ने भन्दै उहाँले यसमा साथ र सहयोग गर्न आग्रह गरे । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग सङ्घ चितवनका अध्यक्ष सूर्य न्यौपाने, एक्यानका जिल्ला अध्यक्ष सन्तोष रेग्मी, अडानका अध्यक्ष प्रदीपराज वस्ती सम्मानित भएको संस्था नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठलगायतले मन्तव्य दिएका थिए ।
प्रमुख कर अधिकृत भट्टराई, कर अधिकृत शिवप्रसाद ढुङ्गाना र विमल पौडेलले कर सङ्कलनको अवस्थाका बारेमा जानकारी दिँदै सङ्कलनमा सहयोगको आग्रह गरेका थिए । त्यस अवसरमा उत्कृष्ट कर्मचारीको रूपमा सन्ध्या पौडेल र विजय तिवारीलाई पनि सम्मान गरिएको थियो ।
मङ्सिर १ गतेदेखि सुरु भएको कर सप्ताहका क्रममा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट खेलाडी पनि सम्मानित भएका छन् । चितवन कर कार्यालयमा ६९ हजार करदाता दर्ता भएका छन् । कार्यालयको यस वर्ष रु २७ अर्ब ९२ करोड राजस्व उठाउने लक्ष्य रहेको छ ।











































