March 15, 2025
- ADVERTISEMENT -

बालकुमारी २०४७ ब्याचका पूर्वविद्यार्थीको पुनर्मिलन

January 2, 2024

चितवन / बालकुमारी माध्यमिक विद्यालय नारायणगढका पूर्वविद्यार्थीले शनिबार साँझ गैंडाकोटमा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा २०४७ सालमा एसएलसी दिएका विद्यार्थीहरूले होटल द नारायणीमा सांगीतिक कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा बोल्दै बालकुमारी माविका प्रअ आनन्द सापकोटाले पूर्वविद्यार्थीको साथ र सहयोगले अगाडि बढ्न सहज भएको बताए । पूर्वप्रअ शरदरन्जन श्रेष्ठले विद्यार्थीलाई फूल र यात्री तथा शिक्षकलाई माली र घटवारेका रूपमा व्याख्या गरे ।
एसएलसी ४७ ब्याचका विद्यार्थी सूर्यप्रकाश कँडेलले सहजीकरण गरेको कार्यक्रममा बालमाविद् एलुम्नाई एसोसिएसनका पूर्वअध्यक्ष आश्विन श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा पूर्वविद्यार्थी अरूण पौडेल, बद्री पौडेल र सन्जोग श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए भने दीपक दवाडीले सांगीतिक प्रस्तुति दिएका थिए ।
उक्त कार्यक्रममा सोही ब्याचका बबिलाल तामाङले न्यूजप्रवाह साप्ताहिकको प्रथम वार्षिकोत्सवको पुस्तक वितरण गरेका थिए । तामाङ न्यूजप्रवाह साप्ताहिकका प्रधान सम्पादक हुन् भने विगत दुई दशक बढीदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् ।
नेपाली र हिन्दी गरी करिब एक दर्जन गीत गाएका दवाडीले डिजे बनेर सहपाठीलाई नचाएका थिए । उनले पापा कहते हे बडा नाम करेगा बोलको गीत गाउँदा पुराना दिन सम्झेर उपस्थित सबै भावुक बनेका थिए ।
पूर्वविद्यार्थी राजन खयरगोलीले कार्यक्रममा उपस्थित शिक्षकहरू ऋध्दिचरण श्रेष्ठ, राजकुमार श्रेष्ठ, गंगा साह र शरदरन्जन श्रेष्ठलाई ढाकाटोपी पहिराई सम्मान व्यक्त गरेका थिए ।

- ADVERTISEMENT -