विराटनगर / सुनसरीको इटहरीमा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको इटहरी उपमहानगरपालिका–६, बीपी चोकस्थित विष्णु खड्काको घरमा शनिबार मध्यराति आगलागी हुँदा जलेर ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, कटुवाल सुतेको कोठामा आगलागी भएको थियो । आगोले कोठामा भएका सबैजसो सामान जलेर नष्ट भएको छ ।
अर्को कोठामा उनका छोराबुहारी सुत्ने गरेका थिए । उनीहरुले आगो कोठामा फैलिसकेपछि मात्र आफूहरूले थाहा पाएको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाइएकाले अन्यत्र फैलन नपाएको जनाइएको छ ।
आगोलागी के–कति कारणले लागेको भन्ने विषयमा नखुलेको र प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।