April 27, 2024

प्रथम भरतपुर च्याम्पियनसिपको क्वाटरफाइनलमा एपिएफ

March 12, 2024

चितवन / सशस्त्र प्रहरी बल (एपिएफ) भण्डारा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कैलाश युथ क्लबलाई २–१ ले हराउँदै एपिएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा एपिएफलाई जिताउज सुजन लामा र माइकल शाहीले गोल गरे । कैलाशका राहुल थापा मगरले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा नै एपिफले पेनाल्टी पाएको थियो । उक्त अवसरको सदुपयोग गर्दै सुजनले बललाई जाली चुमाए । तर एपिएफको त्यो अग्रता धेरै समय टिकेन । १५ औं मिनेटमा राहुलको गोलमा कैलाश खेलमा फर्कियो । पहिलो हाफको अतिरिक्त समयमा माइकलले गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए ।

खेलमा थप गोल हुन सकेन र एपिएफ विजयी भयो । एपिएफका माइकल म्यान अफ दि म्याच भए । एपिएफले अब क्वाटरफाइनलमा चैत ३ गते शनिबार गैंडाकोट एफसीको सामना गर्नेछ । प्रतियोगितामा मंगलवार कुनै खेल छैन । यससँगै पहिलो चरणका खेलहरु सकिएका छन् ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा बुधबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा बिहीबार चौकीडाँडा पोलका हेटौंडा फुटबल एकेडेमी र २८ बिघा भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

चैत १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -