June 20, 2024

जेष्ठ नागरिकका ज्ञान, सीपलाई पुस्तान्तरण आवश्यक छ : प्रमुख दाहाल

May 10, 2024
File photo

चितवन / भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्ने बताइन् । भरतपुर वडा नम्बर २५ ले आयोजना गरेको जेष्ठ नागरिक र एकल महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले सो बताएका हुन् ।

जेष्ठ नागरिकसँग रहेका राम्रा ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्न सके उनीहरुको सम्मानमा कमी नआउने उनको भनाइ थियो । कार्यक्रममा वडा नम्बर २५ का ३०० जनाभन्दा बढी जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरिएको थियो ।

हिजोका दुःख संघर्ष अहिलेका पुस्ताले थाहा नपाउँदा जेष्ठ नागरिकलाई गर्ने सम्मानमा कमी आएको उनले भनिन् । आगामी दिनमा जेष्ठ नागरिकलाई आदर सम्मान गरी पालपोषण गर्ने छोरा बुहारी, छोरीलाई यस्तै कार्यक्रम आयोजना गरी सम्मान गर्नुपर्नेमा उनले जोड दिइन् ।

नेपालमा पनि बुवा–आमालाई अहिले पनि भगवानकै ठाँउमा राखेर पुज्नेहरु रहेको उनले बताइन् । तर, केही व्यक्तिहरुले भने वृद्ध बुवा–आमालाई वृद्धआश्रममा गएर छाड्ने परिपाटी दुःखद भएको जिकिर गरिन् । बुवा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततीले त्यही सिको गर्ने उनको भनाइ थियो ।

‘मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत १६ हजार बढी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण भएको छ, उनले भनिन्, ‘अब घर–घरमै पुगेर सम्बन्धित रोगको औषधि वितरण गर्नेछौ । यो नै महानगरको जेष्ठ नागरिकप्रतिको सम्मान हो ।’ जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उनले बताइन् ।

जेष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले जानकारी गराइन् । बुवा–आमालाई हेला–होचो गर्ने अवस्थालाई न्युनीकरण गरी सबै घरमा खुसीयाली ल्याउन महानगरपालिकाले प्रयास गरिरहेको उनले बताइन् । समाजमा देखिएका गलत सोच र विकृतिलाई निरुत्साहित गर्दै सुन्दर र सुसंस्कृत सहर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने प्रमुख दाहालको भनाइ थियो ।

कार्यक्रममा भरतपुर २४ नम्बरका अध्यक्ष रामु गोदार, वडा नम्बर २५ का अध्यक्ष छविलाल सापकोटा, प्रभात माविका प्रधानध्यापक होमनाथ भण्डारीले मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -