विराटनगर / मोरङ कारागारमा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३९ वर्षीय धनबहादुर थापा रहेको जिल्ला कारागार मोरङले जनाएको छ ।
जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार, लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका थापा मंगलबार बिहान अचानक बेहोस भएका थिए ।
खाना खाएर बसेका बेला बेहोस भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषित गरेको जेलर बरालले बताए ।
मृतक थापालाई मुटु रोग सम्बन्धी पुरानै समस्या रहेको र यसअघि पनि उपचारका लागि बारम्बार अस्पताल लैजाने गरिएको बुझिएको छ ।
थापालाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले २०८० फागुन १० गते दोषी ठहर गर्दै २ वर्ष कैद सजायको फैसला गरेको थियो ।