April 29, 2025

चितवनमा ‘प्रतिभा मञ्च २०८१’ हुने

दूरदराजका प्रतिभाको खोजीमा कला मन्दिर
July 27, 2024
Photo : Babilal Tamang / newsprabah.
- ADVERTISEMENT -

– बिना तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नं. २ मा अवस्थित नारायणी कला मन्दिरले ‘प्रतिभा मञ्च २०८१’ नृत्य प्रतियोगिता सुरु गर्ने भएको छ । दूर दराजमा रहेका प्रतिभा खोजीका लागि ‘प्रतिभा मञ्च २०८१’ सञ्चालन गर्न लागेको कला मन्दिरका अध्यक्ष रोहित श्रेष्ठले शुक्रबार प्रेस सम्मेलन मार्फत जानकारी दिए ।

पत्रकार सम्मेलन बोल्दै अध्यक्ष श्रेष्ठले प्रतियोगिताको निर्णायकहरुमा कलाकार मौसमी मल्ल, नृत्य निर्देशकद्वय पुष्प श्रेष्ठ र सुमित लामा रहने बताए । प्रथम हुने प्रतियोगीले रु. ५० हजार, दोस्रोले रु. २५ हजार, तेस्रोले रु. १५ हजार पाउने छन् भने थप दुई जनालाई जनही पाँच हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने उनले बताए ।

उक्त प्रतियोगितामा चितवनलगायत छिमेकी जिल्लाहरु नवलपुर, मकवानपुरको सहभागी रहने बताइएको छ भने आधुनिक गीत, लोक गीत, सेमी क्लासिकिकबाट छनोट गरिने छ । प्रतियोगिता इन्ट्रि फि सिंगल ३ सय र डबल ५ सय रहने कला मन्दिरले जनाएको छ भने लागत खर्च साढे ७ लाखको अनुमान गरिएको छ ।

यही साउन १४ गते सोमबारदेखि खैरहनीबाट अडिसन सुरू गरिने प्रतियोगिताका संयोजक रामशरण सिलवालले जानकारी दिए । यस्तै, साउन १९ गते शारदानगर, २१ गते कावासोती, २६ गते भरतपुर र २८ गते मुग्लिङमा अडिसन हुने उनले भने ।

अडिसनबाट ३० जना छनौट गरेपछि भदौ २६ गते नारायणी कला मन्दिरको मञ्चमा उत्कृष्ट १५ को छनौट गरिनेछ भने असोज १२ गते उत्कृष्ट १० र कात्तिक ३ गते उत्कृष्ट ५ छनौट हुने बताइएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले कात्तिक २४ गते शनिबार कला मन्दिरमा हुनेछ ।

सोही अवसरमा कला मन्दिरका अध्यक्ष श्रेष्ठले गायिका मेनुका पौडेललाई स्वागत तथा सम्मान गरेका थिए । गायिका पौडेलले भजन गायन मार्फत सबैलाई मनोरन्जन दिलाइन् ।

कार्यक्रममा उपाध्यक्ष अनुकूल श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने सचिव सनदकुमार पियाले संचालन गरेका हुन् । पूर्वअध्यक्षद्वय प्रसाद श्रेष्ठ र विनय श्रेष्ठले ६ दशक लामो इतिहास बोकेको कला मन्दिरको बारेमा प्रकाश पारेका थिए ।

२०१९ सालमा स्थापना भएको नारायणी कला मन्दिरमा ३६८ जना सदस्यहरु रहेका छन् ।

- ADVERTISEMENT -