काठमाडौं । पाँचथरको फालेलुङ–५ प्राङबुङमा भएको विस्फोटमा परी दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा परी एकै घरका दाजु बैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारीका अनुसार घाइते दुई वर्षीया प्रिन्सा साँवाको उपचारका लागि लैजाँदै गर्दा इलाममा र उनको दाइ ११ वर्षीय दिप्सन साँवाको उपचारका क्रममा बी एण्ड सी अस्पताल झापामा मृत्यु भएको हो । उनीहरु स्थानीय दिलीप साँवाका छोराछोरी हुन् ।
विस्फोटमा परेर स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते छन् । घाइतेमध्ये पवनको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । दिपशनको स्थानीय स्वास्थ्य चौकीमै उपचार गरिएको छ। उनीहरु खतरामुक्त रहेको डिएसपी भण्डारीको भनाइ छ ।
प्रहरीले ‘होममेड ग्रिनेट’ विस्फोट हुँदा उनीहरूको मृत्यु भएको अनुमान गरेको छ । सोही स्थानमा अर्को शंकास्पद बस्तु पनि फेला परेको छ ।