चितवन / भरतपुर महानगरपालिका–९ को वडा कार्यालय अगाडि आइतवार साँझ ७ बजे मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
प्रदेश १–०२–०४६ प ८९७४ नम्बरको मोटरसाइकल र प्रदेश २–०२–००५ प ६२३० नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन् ।
- ADVERTISEMENT -

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार दुई सवारी साधन आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक बारा घर भई हाल भरतपुर–९ बस्ने वर्ष ३२ को रमेश शाह, मोटरसाइकल पछाडि सवार चालकको श्रीमती वर्ष ३० की सोनी महतो, सोहि मोटरसाइकल पछाडि सवार चालकको छोरा वर्ष ८ को रिदम शाह घाइते भएका हुन् ।
उनीहरुको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
स्कुटर चालक भरतपुर–९ बस्ने वर्ष २० को ईसान दुरा सामान्य घाइते भएको प्रहरीले बताएको छ ।
यस्तै, नेपालगन्जमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क बाइपास रोड नजिक भे ६ प ८०२ नं र ज ३ प ७१७१ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा नेपालगन्ज–११ का १८ वर्षीय एहसान शेख गम्भीर घाइते हुनुभएको प्रहरीले बताएको छ । घाइते शेखको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि भारतको लखनऊ प्रेषण गरिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएकोमा चिकित्सकले कसौधनलाई राति नै मृत घोषणा गरेका थिए । लखनऊ प्रेषण गरिएका गम्भीर घाइते शेखको मुख, आँखा र शरीरको भित्री भागमा चोट लागेकोे प्रहरीले बताएको छ ।










































