चितवन / भरतपुर महानगरपालिका वडा नं. २२ का वासिन्दाले निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. २२ को कार्यालय र नेपाल रेडक्रस सोसाइटी पटिहानी उपशाखा बीच सम्झौता भएसँगै वडावासीले निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेको वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।
वडाध्यक्ष महतोका अनुसार वडाभित्रका वासिन्दाहरुले स्वास्थ्य उपचारमा पटिहानीदेखि भरतपुरसम्मको एम्बुलेन्स सेवा निःशुल्क पाएका हुन् । वडावासीको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क एम्बुलेन्स सेवाको लागि पहल गरिएको उनको भनाइ छ ।
- ADVERTISEMENT -

सम्झौता पत्रमा एम्बुलेन्स सेवा अन्तर्गत गर्भवती महिला सुत्केरी हुने बेलामा अस्पतालसम्म लैजाने र ल्याउने एकपटक, गरिब, विपन्न र असहायहरुलाई वडा कार्यालयले सिफारिस गरेमा, रातो कार्ड भएका पूर्ण अपाङ्गहरुलाई निःशुल्क गरिने उल्लेख छ ।
यस्तैगरी, ८० वर्षभन्दा माथिका जेष्ठ नागरिक, स्वास्थ्य चौकी रिफर गरेको विरामी, वडा नं. २२ भित्रका सडक वा अन्य दुर्घटनामा परेका व्यक्ति तथा अन्य उमेर समूहकालाई ५० प्रतिशत छुट समेत दिने व्यवस्था गरिने सम्झौता पत्रमा भनिएको छ ।











































