चितवन / सहकारी ठगी प्रकरणमा बयानका लागि चितवनको भरतपुरमा दोस्रो दिन बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला न्यायाधिवक्ताको कार्यालयमा लगिएपछि सडकमा प्रदर्शन गरिरहेका रवि समर्थक र सुरक्षाका लागि तैनाथ प्रहरीबिच झडप भएको छ ।
जिल्ला प्रहरी कार्यालय भरतपुर अगाडि जम्मा भएका प्रदर्शनकारीलाई प्रहरीले अगाडि बढ्न रोकेपछि झडपको स्थिति आएको हो ।
गाडीमा माइकिङ गर्दै अगाडि बढेको जुलुसलाई प्रहरी टोलीले रोकेपछि रवि समर्थकले प्रहरीमाथि ढुंगा हानेका थिए । जवाफमा प्रहरीले पानीको फोहोरा छाडेर भिडलाई तितरवितर पारेको थियो ।
त्यसपछि पनि जुलुस अगाडि बढ्न खोजेपछि प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको थियो । झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा बयान लिन मंगलबार भरतपुर ल्याइएको हो । मंगलबार बयान नसकिएपछि लामिछानेसँग बुधबार पुनः बयान लिइएको हो । लामिछानेसँग बयान लिने काम जारी छ ।