– बबिलाल तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नं. २ का वडाअध्यक्ष मनोज रानाभाटले सरकारी विद्यालयहरुलाई शैक्षिकस्तर राम्रो बनाउन भरतपुर महानगरपालिका पूर्ण रुपमा लागि परेको बताएका छन् । बालकुमारी माध्यमिक विद्यालय (बालमाविद्) को ५९औं वार्षिकोत्सवका अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष रानाभाटले सो बताएका हुन् ।
- ADVERTISEMENT -

सरकारी विद्यालयलाई पछिल्लो समय खाजा खर्च, पूर्वाधार निर्माण, शिक्षकलाई शिक्षासम्बन्धी प्रशिक्षण, स्वास्थ्यका लागि स्टाफ नर्स लगायत सबै किसिमको सहयोग महानगरले उपलब्ध गराएको उनको भनाइ थियो ।
बालकुमारी माविको अवस्था विगतमा जे भए पनि अब हामीले सोच्नु पर्ने बेला आएको बताउँदै सबैकोे साथ सहयोगको लागि उनले आग्रह गरे । ‘शिक्षकहरुलाई जोश जाँगरका साथ अघि बढ्न मेरो अनुरोध छ, ‘उनले भने, ‘अभिभावकहरुलाई ढुक्क भएर बाबुनानीहरुलाई विद्यालय पठाउनुस् राम्रो रिजल्ट आउने छ ।’
- ADVERTISEMENT -

शिक्षकहरु अब सुस्ताएर बस्ने स्थिति नभएको र सबैलाई जागरुक बन्न उनको सुझाव थियो । उनले अभिभावकको विश्वासको लागि अबको शैक्षिक परिणाममा विद्यालयले ४ जीवी ल्याउने गरी कडा परिश्रम गर्नुपर्ने बताए ।
‘विद्यालय हामी सबैको साझा घर हो, यसलाई बनाउन र पहिचान जरुरी छ ।’, उनले भने, ‘अनि मात्र सबैको अस्तित्व जोगिने छ ।’

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णराज हमाल, पूर्व प्रधानाध्यापक सरस्वती रिजाल, शिक्षा समन्वय इकाई चितवनका प्रमुख कृष्णप्रसाद भट्टराई, भरतपुर महानगरपालिका वडा नं. १ का अध्यक्ष केशव महर्जन, वडा नं. ३ का विकास थापा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष देशीराम प्रधान, बालमाविद् एल्मुनाइ एशोसियसनका अध्यक्ष वामदेव शर्मा, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठलगायतले विद्यालयको विषयमा चिन्ता र चासो व्यक्त गरेका थिए ।

कार्यक्रममा एसएलसी परीक्षामा सतप्रतिशत ल्याउने पाँच जना विद्यार्थी र सात जना शिक्षकहरुलाई कार्यसम्पादनको आधारमा सम्मानित गरेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हाल विद्यालयमा ५५० विद्यार्थी जना छन् भने शिक्षकशिक्षिका गरी ३७ जना अध्यापनरत छन् । वि.सं. २०२२ सालमा स्थापित विद्यालय कुनै समय चितवनमा नमूना विद्यालयको रुपमा पहिचान बनाएको थियो भने १३ सय बढी विद्यार्थीले अध्ययन गर्दथे ।
click here for video बालकुमारी माविको ५९औं वार्षिकोत्सव









































