चितवन / भरतपुर महानगरपालिका वडा नम्बर १६ का समाजसेवी नन्दप्रसाद भट्टले विपन्न एवं पिछडिएका समुदायका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका छन् ।
सोही वडामा रहेको श्री आधारभुत विद्यालय ब्रम्हपुरका ८७ विद्यार्थीलाई ट्रयाकसुट दिएका हुन् । शुक्रबार स्कुल परिसरमा आयोजित एक कार्यक्रमका बीच उनले त्यहांँ अध्यनरत विद्यार्थीलाई ट्याकसुट वितरण गरेको हो ।
- ADVERTISEMENT -

वितरणपछि बोल्दै समाजसेवी भट्टले आफ्ना वडामा रहेका विद्यालयका विपन्न विद्यार्थीहरुको अध्ययन अध्यापनमा सहयोग पुगोस भन्ने हेतुले ट्रयाकसुट वितरण गरिएको बताए ।
‘यो वडाका कुनैपनि विद्यार्थीले आर्थिक अभावमा शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नपरोस भन्ने हेतुले सहयोग गरेको हुंँ, भट्टले भने, यसअघि पनि मैले वडाका अन्य विद्यालयहरुमा पनि शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको छु ।’
उनले आगामी दिनमा पनि विद्यालयलाई सहयोग निरन्तर दिने बताउंँदै अक्षयकोषको लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । समाजसेवी भट्ट विगत २० वर्षदेखि विभिन्न संस्था तथा कमजोर आर्थिक अवस्था भएका समुदायलाई सहयोग गर्दै आएका छन् । उनी सेतीदवी सामुदायिक वन तथा सानोगढी खानेपानी उपभोक्ता समितिको समेत अध्यक्ष हुनुहुन्छ ।
सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक सन्दीप सुवेदीले यो सहयोगले विद्यार्थीलाई विद्यालयमा नियमित आउन सहयोग पुगेको बताए ।
‘विद्यालयमा सबैजसो विद्यार्थीहरु न्यून आर्थिक अवस्थाका रहेको भन्दै उनले भने, यहांँ हुंँदा खाने विद्यार्थीहरुको ९० प्रतिशत बाहुल्यता छ, यो न्यानो कपडा सहयोगले विद्यार्थीलाई हौसला मिल्छ भन्ने ठानेको छु ।’ उनले भट्टको मनकारी मनको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरे ।
उनले विद्यालयमा खेलकुद मैदानको अभावका साथै आधुनिक फर्निचर, खेलकुद सामाग्री कम्युटर, प्रोजेक्टर , डिजीटल बोर्ड लगायतको प्रविधिको अभाव रहेको उनले जानकारी दिए ।
सिमिति श्रोतसाधनबाट विद्यालय सञ्चालन गर्दै आएको भन्दै प्रअ सुबेदीले अन्य दाताबाट पनि सहयोगको अपेक्षा गरे । कार्यक्रममा सहयोगको कदर गर्दै विद्यालयले भट्टलाई सम्मान गरेको थियो ।
चारकठ्ठा क्षेत्रफलमा मात्र रहेको यस विद्यालयमा दलित, आदिवासी, सिमान्तकृत समुदायले अध्ययन अध्यापन गर्दछन । कक्षा १ देखि ८ सम्म अध्ययन हुंँदै आएको यस विद्यालयमा २७० जना विद्यार्थी अध्यनरत छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर अधिकारीका अध्यक्षतामा सम्पन्न वितरण कार्यक्रममा समितिका सदस्य, अभिभावक, शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।







































