इलाम / इलामको जसविरेस्थित एक चिया प्रशोधन उद्योगमा अकस्मात् आगलागी भएको छ । स्थानीयका अनुसार आगलागी एक्कासि सुरु भएको हो भने प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट नै यसको कारण हुन सक्ने अनुमान गरिएको छ ।
आगो नियन्त्रणका लागि इलाम नगरपालिकाबाट वारुणयन्त्र परिचालित गरिएको थियो । तर आगलागीका कारण कति क्षति भयो भन्ने औपचारिक विवरण भने अझै आइसकेको छैन ।
- ADVERTISEMENT -

उक्त उद्योगका सञ्चालक सरद सुब्बा ‘नेपाल टी च्यालेन्ज २०२४’ मा उत्कृष्ट नेपाली चिया उत्पादक (‘बेस्ट टी मेकर’) घोषित भएका थिए । विशेष चिया उत्पादन गर्ने यो उद्योगमा सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटी लगायतका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन गरिन्थ्यो ।
नेपालमै मात्र नभई नेदरल्यान्ड, अमेरिका, डेनमार्क, फ्रान्सलगायतका देशमा निर्यात हुने यी चियाको माग अत्यधिक थियो । उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्ने गरेको थियो ।










































