काठमाडौँ । उपत्यका पछिल्ला दिनहरूमा फेरि वायु प्रदूषणको चपेटामा परेको छ । आज बिहान ७ः५५ बजेको मापन अनुसार, काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) २७० पुगेको छ, जसले गर्दा काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहर बनेको हो ।
प्रदूषणको सूचिमा भारतको राजधानी दिल्ली २६५ एक्यूआईसहित दोस्रो स्थानमा छ भने, पाकिस्तानको लाहोर १९९ एक्यूआईसहित तेस्रो स्थानमा परेको छ । स्वास्थ्य विज्ञहरुका अनुसार हाल काठमाडौँको हावा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अवस्थामा पुगेको छ । केही दिनअघि चलेको हावाले प्रदूषण अलिकति घटाए पनि स्थिति अझै गम्भीर नै छ ।
विगत लामो समयदेखि पानी नपरेको र उपत्यका वरिपरिको जंगलमा लागेको डढेलोका कारण धुलो र धुँवाले आकाश ढाकिएको छ । यही कारणले वायु गुणस्तर अत्यधिक बिग्रिएको विज्ञहरुको निष्कर्ष छ । विश्व स्वास्थ्य संगठनका अनुसार, स्वास्थ्यका लागि एक्यूआई ३५ भन्दा कम हुनु उपयुक्त हो ।