चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जनयात्रा’ शुभारम्भ गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो ।
पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरेका हुन् ।
उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरेका छन् । यो कार्यक्रममा आफूले धेरै कुरा भन्ने सभापति रवि लामिछानेको उद्घोष थियो ।
लामिछाने शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै उनी अहिले प्रहरीको हिरासतमा छन् । लामिछानेले पक्राउ पर्नुअघि कार्यक्रम नरोक्न निर्देशन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारले बदला लिने नियतले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको बताए ।
उनले सेखी झार्ने र बदल लिने नियतले नै रवि लामिछानेलाई रातारात बेडरूमबाट पक्राउ गरिएको जिकिर गरे । ’यसअघि हिरासतमा राख्दा पनि यस्तै गरिएको थियो । त्यसैलाई पुनरावृत्त गर्न खोजिएको छ,’ उनले भने ।
अदालतको आदेशपछि जानकारहरूसँग कुरा गर्दा उच्च अदालतले जिल्ला अदालतलाई जानकारी गराउने र त्यसपछि प्रहरी हुँदै प्रक्रियामा जान्छ भन्ने बुझेको उनले बताए । ’त्यसो हुँदा सोमबारसम्म समय हुने र तारेख बुझ्न जाँदा सभापति लामिछानेले आफै जानकारी गराउन सक्ने भनिएको थियो । तर उल्टो भयो,’ उनले भने । तर लामिछाने हतास नभएको वाग्लेले बताए ।