April 22, 2025

ग्यास सिलिण्डर पड्किएर भीषण आगलागी

April 9, 2025
file photo.
- ADVERTISEMENT -

अछाम / बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार मंगलबार बेलुका ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल र गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसलमा क्षति पुगेको हो ।

आगो निभाउनका लागि नेपाली सेनाको गोरख बक्स गण मङ्गलसैनबाट सेनानी अमृत खड्काको कमाण्डमा–२० जनाको टोली, जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा ९ जनाको टोली र सशस्त्र प्रहरी बल खप्तड गुल्मका सशस्त्र प्रहरी निरीक्षक हंसराज जोशीको कमाण्डमा ११ जनाको टोली खटिएको थियो । आगो नियन्त्रणमा मङ्गलसेन नगरपालिकाको दमकल पनि खटेको थियो ।

आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । रातको समय भएकाले आगो नियन्त्रणमा समस्या भएको थियो ।

- ADVERTISEMENT -