तनहुँ । गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् ।
पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए ।
पुल निर्माणले गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोडेको छ ।
सिग्देलले भने, ‘तनहुँतर्फको भाग पुलसँग जोडिएको छ । पाल्पातर्फको भागमा माटोले सतह मिलाएर यातायात सञ्चालनमा ल्याइएको छ, केही समयभित्रै व्यवस्थापन गरी पुलको उद्घाटन गरिने छ ।’
पुल निर्माणको काम युनाइटेड विल्डर्सले पाएको थियो । कूल २१० मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण गरिएको हो । डबल लेन प्रविधिमा निर्माण भएको पुल निर्माणमा २७ करोड लगानी भएको छ ।
कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य थिए । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहज रूपमा आवातजावात गर्न सकिन्छ ।