April 19, 2025

चितवनको अक्षर समूहमा लेखराम सापकोटा निर्वाचित

April 16, 2025
- ADVERTISEMENT -

चितवन । अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन भएका छन् । द नारायणी रिसोर्ट गैंडाकोटमा मङ्गलबार आयोजित समूहको सातौँ अधिवेशनबाट सापकोटालाई अध्यक्ष पदमा चयन गरिएको हो ।

गैंडाकोट घर भएका सापकोटा सम्पूर्ण किताब नारायणगढका सञ्चालक हुन् । कायाकैरन मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक रहेका सापकोटा पत्रकारिता, साहित्य सेवा र सिर्जनामा सक्रिय छन् ।

सातौं अधिवेशनले सापकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । जसअन्तर्गत सूर्यप्रकाश कँडेल उपाध्यक्ष, विनोदबाबु रिजाल सचिव, गायत्री अधिकारी कोषाध्यक्ष र सामना पहाड सहसचिव छन् । समितिको सदस्यहरूमा उपेन्द्र त्रिपाठी, प्रकाश थापा प्रथा, विद्या भण्डारी चिराग, आकाश पौडेल, अञ्जान प्रदीप र गीता पौडेल ढकाल चयन भएका छन् ।

मङ्गलबार साँझ गैंडाकोटमा बसेको समितिको पहिलो बैठकले भूपिन, रमेश प्रभात, ईश्वर कँडेल र प्रभाकर पण्डितलाई सल्लाहकारमा मनोनयन गरेको छ । २०६२ सालमा भूपिनको नेतृत्वमा स्थापित अक्षर समूहले पर्खालमा कला, समयको मेचमाथि भूपि शेरचन, पाठकको अदालतमा लेखक, विश्व कविता दिवस, अक्षर वृत्त र एक कविका एक दर्जन कवितालगायतका कार्यक्रम गर्दै आइरहेको छ ।

नयाँ कार्यसमितिले पहिलो कार्यक्रमस्वरुप यही वैशाख महिनामा `अक्षर वृत्त´ कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष सापकोटाले बताए । `यो कार्यक्रममा सहभागीले आफूले पढेको पछिल्लो पुस्तकको टिप्पणी राख्ने छन्, कार्यक्रम यसै महिनामा भरतपुरमा हुनेछ´, सापकोटाले भने ।

- ADVERTISEMENT -