काठमाडौं / शिक्षकहरूको काठमाडौंमा केन्द्रित आन्दोलनमा आइतबार भएको झडपपछि अझ तीव्र बनाउने घोषणा गरेका छन् । आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको दमनको कडा विरोध गर्दै प्रतिकारमा उत्रने चेतावनी दिएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै शिक्षक र कर्मचारीमाथि गरिएको ‘क्रूर दमन’को विरोधमा सबै पेसागत संस्था, शिक्षा सरोकारवाला समूह र आम नेपाली जनतालाई एकजुट हुन अपिल गरेका छन् । ‘अग्रगामी विद्यालय शिक्षा ऐन बिना हामी कार्यक्षेत्रमा फर्किँदैनौं,’ सुवेदीले भने, ‘देशभरका शिक्षक(कर्मचारी साथीहरू, अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौं आइ आन्दोलनमा सहभागी होऔं ।’
महासंघले आइतबारको आन्दोलनमा सरकारद्वारा संरक्षित ‘भिजिलान्ते’हरूद्वारा स्थिति बिगारिएको र त्यसकै बहानामा प्रहरीबाट पानीको फोहरा, ढुङ्गामुढा र निर्मम लाठी प्रहार गरिएको आरोप लगाएको छ । बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक(कर्मचारी र केही सञ्चारकर्मी घाइते भएका छन्, जसमध्ये करिब एक दर्जनको अवस्था गम्भीर छ ।
सुवेदीले सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारलाई उपचार खर्चको जिम्मेवारी लिन कडा माग गरेका छन् । उनले सरकारले प्रदर्शनकारीमाथि गरेको ‘ज्यादती’को घोर निन्दा र भर्त्सना समेत गरेका छन् ।