काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा आइतबार दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, मृत्यु हुनेमा संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-४ का भरतकुमार राई र महेश राई रहेका छन् ।
प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार, त्रिवेणी ताल पदमार्गमा निर्माण कार्य गरिरहेका ती व्यक्तिहरूकाे हावाहुरी र पानीसँगै परेको चट्याङले घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा शवहरू अहिलेसम्म राखिएका छन् । प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा चार जनाको टोली घटनास्थलतर्फ गएको छ । शव परीक्षणको प्रक्रिया सोमबार बिहानसम्म अस्पतालमा गरिने प्रहरीको भनाइ छ ।