२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

प्रधानमन्त्रीद्वारा सत्तापक्षीय दलको बैठक आह्वान

मुख्य एजेण्डा शिक्षक आन्दोलन
प्रकाशित मिति : २०८२ बैशाख १७ गते
File Photo
- ADVERTISEMENT -

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनका दलहरूको बैठक आज (बुधबार) बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, जारी शिक्षक आन्दोलन, र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका नीतिगत विषयहरूमा गहन छलफल हुनेछ ।

गठबन्धनमा कांग्रेस, एमाले, लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायत दलहरू सहभागी छन् । शिक्षक आन्दोलनको विषयमा विभिन्न चरणमा वार्ता भए पनि अहिलेसम्म सहमति कायम हुन सकेको छैन । विद्यालय शिक्षा विधेयकबारे संसदको शिक्षा समितिमा छलफल जारी छ भने जनताबीच निराशा बढिरहेको सन्दर्भमा सरकारले आगामी नीति तथा कार्यक्रम जनमुखी र आशा जगाउने खालको बनाउने तयारी गरिरहेको छ ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमार्फत २०८२र०८३ सालका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यो कार्यक्रम मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सार्वजनिक गरेका हुन् । नेपालको संविधानअनुसार राष्ट्रपतिबाट नै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

नीति तथा कार्यक्रम पारित भएपछि सरकारको बजेट निर्माण प्रक्रिया अघि बढ्नेछ । संसद सचिवालयका अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नेछन् । संवैधानिक व्यवस्था अनुसार पारित बजेट साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।

- ADVERTISEMENT -