हेटौंडा । बागमती प्रदेशको वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले आगामी वर्षका लागि मन्त्रालयले आफ्ना योजनाहरु ल्याउँदा आम जनतालाई उत्पादनसंग जोड्ने विषेश योजनाहरु ल्याउने तयारी गरेको बताउनु भएको छ ।
प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा सोमबारबाट सुरु भएको २ दिने योजना तर्जुमा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री सिलवालले अन्य प्रदेशको तुलनामा उत्कृष्ट योजनाहरू सहित परिणाम देखिने खालको योजनाहरू ल्याउन लागेको जानकारी गराउनु भएको हो ।
- ADVERTISEMENT -

मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागी योजना छनौट गर्दा वनबाट कसरी आम जनताका साथै प्रदेश सरकारलाई समेत कसरी लाभान्वित गर्न सकिन्छ ? ध्यानमा राखेर त्यस्ता खालका योजनालाई विषेश प्राथमिकताका साथ ल्याउने लागेको बताउनुभयो ।
यस्तै कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आगामी वर्षको लागी मन्त्रालयले योजनाहरू ल्याउँदा आम जनतालाई केन्द्रमा राख्दै उनीहरूको आवश्यकता बुझेर ल्याउनु पर्ने बताउनुभयो । उहाँले योजनाहरु ल्याँउदा आम जनताको समस्यालाई ध्यानमा राख्दै प्रदेश सरकार समेत त्यसबाट लाभान्वित हुने किसिमले नयाँ योजना ल्याउन आग्रह गर्नुभयो ।
यस्तै उनले मन्त्रालयबाट यसअघि योजना छनोट गर्दा भएका त्रुटिहरूलाई पुनःनदोहराउने गरी र टुक्रे योजनाहरु नल्याउन आग्रह गर्नुभयो । यस्तै मुख्यमन्त्री लामाले प्रदेशको आम्दानीको स्रोतको कमीले गर्दा आगामी वर्षका लागी आउने बजेट रकम समेत कम हुने बताउनुभयो ।
यस्तै कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले धेरै योजनाहरु छरपष्ट किसिमले बजेट पुस्तिका ठुलो बनाउन मात्र योजनाहरु ल्याउन नहुने बताउनुभयो । उहाँले प्रदेश सरकारले गर्न सक्ने योजनाहरु मात्रै ल्याउनु पर्नेमा जोड दिनुभयो ।
यस्तै मन्त्रालयले आयोजना छनौट विधिलाई ख्यालमा राखेर पुरना ढाँचाका एकै किसिमका योजना भन्दापनि नयाँ योजनालाई समेत समेट्न आग्रह गर्नुभयो । यस्तै गोेष्ठी कार्यक्रममा मन्त्रालयका सचिव डा.केदार बरालले आगामी वर्षका लागी मन्त्रालयले ९ वटा प्रमुख प्राथमिकताका क्षेत्रहरु छुट्टाएर योजना छनौटको कार्य गर्ने तयारी गरेको जानकारी गराउनुभयो ।
उहाँले प्रमुख प्राथमिकताका क्षेत्रहरूमा वन संरक्षण, वनक्षेत्रको उत्पादकत्व तथा वन पैदावारको उत्पादन अभिवृद्धि,वन पैदावारमा आधारित उद्यम विकास तथा वन पैदावारको सहज विकी वितरण,जडिबुटी प्रजातीहरुको संरक्षण, खेति विस्तार, सङ्कलन, प्रशोधन तथा बजार प्रवद्र्धन कार्यक्रहरु रहेको बताउनुभयो ।
यस्तै एकीकृत जलाधार व्यवस्थापन,जैविक विविधता संरक्षण,मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन, विकास र वातावरण बीच सन्तुलन तथा जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलन,अध्ययन अनुसन्धान प्रविधि विकास तथा मानव संशाधन विकास र पूर्वाधार विकासको क्षेत्र रहेको बताउनुभयो । कार्यक्रममा मन्त्रालय मातहतका विभिन्न कार्यालयहरूका प्रमुख तथा कर्मचारीहरूको उपस्थिती रहेको थियो ।


















































