पोखरा / सहकारी ठगी अभियोगमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत कास्कीले २० लाख रुपैयाँ धरौटी माग गरेको छ । अदालतका सूचना अधिकारी दामोदर आचार्यका अनुसार न्यायाधीश कृष्णजंग शाहको इजलासले गत मंगलबार उक्त आदेश दिएको हो ।
तर, नेपालीले धरौटी बुझाउन नसकेपछि उनलाई बागलुङ कारागार चलान गरिएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन उपाध्यक्ष रहेका बेला नेपालीको खातामा कानुनविपरीत ७७ लाख ५० हजार रुपैयाँ जम्मा भएको अनुसन्धानबाट खुलेको छ । उनले सहकारी ऐनविपरीत लगिएको सो रकम फिर्ता नगरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो ।
- ADVERTISEMENT -

सहकारीका तत्कालीन अध्यक्ष जीबी राईसँग आर्थिक विवादपछि नेपालीले सूर्यदर्शन सहकारी परित्याग गरेका थिए । त्यसपछि उनले पोखरा र आफ्नो गृहजिल्ला बागलुङमा छुट्टाछुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए ।
एमालेबाट ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित नेपालीमाथि पोखरा र बागलुङका दुई सहकारीमार्फत झण्डै २ अर्ब रुपैयाँ ठगी गरेको गम्भीर आरोप लागेको छ । यस ठगीकाण्डका कारण सयौं बचतकर्ता प्रभावित बनेका छन् । अभियोग लागेपछि १६ महिनासम्म भारतमा फरार रहेका नेपालीलाई नेपाल प्रहरीले गत असोज ११ गते नयाँ दिल्लीबाट पक्राउ गरी स्वदेश ल्याएको थियो ।
- ADVERTISEMENT -















































