२०८२ असार ३०, सोमबार
July 14, 2025
२०८२ असार ३०, सोमबार
July 14, 2025 Monday

इरान–इजरायल युद्ध चर्किदैँ, तेल भण्डारणमा आगलागी

प्रकाशित मिति : २०८२ असार १ गते
file photo.

काठमाडौं / इरान र इजरायलबीचको तनाव युद्धको तहमा पुगेको छ, जहाँ दुवै पक्षले एकअर्काको भूमिमा भीषण आक्रमण गरेका छन् । इजरायली हमलाबाट इरानको प्रमुख तेल भण्डारमा भीषण आगलागी भएको छ भने इरानले प्रहार गरेका मिसाइल र ड्रोनका कारण इजरायलमा पनि मानवीय क्षति भएको छ । यो आक्रमण–प्रतिआक्रमणको शृङ्खलाले सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई नै थप अस्थिरतातर्फ धकेलेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, इजरायली आक्रमणले राजधानी तेहरानस्थित सहारा तेल डिपोलाई निशाना बनाएको थियो, जसको पुष्टि इरानका तेल मन्त्रीले समेत गरेका छन् । आक्रमणपछि तेल भण्डारमा लागेको भीषण आगोको भिडियो सार्वजनिक भएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच, इजरायली विदेश मन्त्री इजरायल काजले सामाजिक सञ्जालमा उक्त भिडियो पोस्ट गर्दै ‘तेहरान जलिरहेको’ भनी उत्तेजक टिप्पणी गरेका छन् । शनिबार राति भएको यस हमलामा कम्तीमा दुई जना इरानी नागरिकको मृत्यु भएको प्रारम्भिक खबर छ ।

इजरायली आक्रमणको जवाफमा इरानले पनि इजरायलमाथि ब्यालेस्टिक मिसाइल र ड्रोनबाट हमला गरेको छ । इरानी रिभोलुसनरी गार्डले एक विज्ञप्ति जारी गर्दै इजरायलका हतियार भण्डारलाई लक्षित गरिएको जनाएको छ । आफ्नो आक्रमणमा ३ वटा क्रुज मिसाइल, १० वटा ड्रोन तथा दर्जनौं अन्य हतियार प्रयोग गरिएको गार्डले दाबी गरेको छ ।

इरानी सञ्चारमाध्यमहरूले तेल अभिभ र हाइफा सहरलाई निशाना बनाइएको उल्लेख गरेका छन् । इजरायली पक्षले भने इरानी हमलामा करिब २० वर्षीया एक महिलाको मृत्यु भएको र अन्य धेरै घाइते भएको पुष्टि गरेको छ ।

यो आक्रमण(प्रतिआक्रमणको शृङ्खलाले गम्भीर राजनीतिक र कूटनीतिक परिणामहरू निम्त्याएको छ । इरानका राष्ट्रपति मसुद पजेस्कियानले इजरायली हमला नरोकिएमा अझै भीषण आक्रमण गर्ने चेतावनी दिएका छन् । बढ्दो तनावकै बीच आइतबार हुने भनिएको अमेरिका र इरानबीचको महत्त्वपूर्ण आणविक वार्तासमेत स्थगित भएको छ, जसले विश्वशक्तिहरूलाई समेत चिन्तित बनाएको छ ।

दुवै देशबाट हमला जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घटनाको पूर्ण विवरण आउन अझै बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -