चितवन । तमू प्ये ल्हु संघ चितवनलाई भरतपुर–४, यज्ञपुरी निवासी दीपक गुरूङको परिवारले दुई धुर जमिन सहयोग गरेको छ । आमा सुनमाया गुरूङ र बुबा स्वर्गीय चित्रबहादुर गुरूङको नाममा छोरा दीपक, बुहारी विन्दु र नाति सुशीलले दुई धुर जमिन दान गरेका हुन् ।
प्ये ल्हु संघले जिल्ला समितिको कार्यालय भवन तथा गुरूङ जातिको सांस्कृतिक धरोहर क्होइबो धीं निर्माण गर्ने अभियान सञ्चालन गरिरहँदा सुरूवाती चरणमा जमिन खरिदको प्रयास भइरहेको हुँदा उक्त कार्यमा सहभागी भएको दाता दीपक गुरूङले बताए ।
- ADVERTISEMENT -

प्ये ल्हु संघ चितवनले ज्ञयपुरीमै एक कठ्ठा जमिन लिन बैना गरिसकेको छ । सोही जमिनको साँधमै रहेको दुई धुर जमिन पाएपछि प्ये ल्हु संघलाई जमिन बढाउन सहज भएको प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्मह्रु तमूले बताए । ‘हाम्रो योजना संस्थालाई आवश्यक पर्ने जमिन खरिद गर्ने हो,’ उनले भने, ‘हाललाई एक कठ्ठा जमिन लिने प्रकृया भइरहेको छ । भोलिका दिनमा यसलाई बढाउने लक्ष्य छ ।’
पहिलो चरणमा जमिन खरिदकै लागि प्रयास भइरहेको हुँदा जग्गा प्राप्तीपछि बल्ल संरचना निर्माणको प्रकृयामा जाने अध्यक्ष गुरूङले बताए । एक कठ्ठा जमिन खरिद गर्नको लागि चालेको कदमअनुसार अर्थ सङ्कलनको काम पनि अन्तिम चरणमा पुगेको उनले बताए । कबुल गरेका सबैले रकम उपलब्ध गराए हाललाई पैसा पुग्ने उनको भनाइ छ ।

















































