काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक केन्द्रहरूमाथि सफल हवाई आक्रमण गरेको दाबी गरेलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । वाशिङ्टन, डीसीको स्थानीय समयअनुसार राति १० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको हो ।
उनको सम्बोधनलाई मध्यपूर्वको तनाव र सम्भावित युद्धको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण क्षणका रूपमा हेरिएको छ । ट्रम्पको सम्बोधनले इरानमाथिको आक्रमणको विस्तृत जानकारी दिनुका साथै अमेरिकाको आगामी रणनीतिबारे पनि स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
- ADVERTISEMENT -

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, यो सम्बोधनले अमेरिका अब कूटनीतिक समाधानतर्फ अघि बढ्छ वा सैन्य कारबाहीलाई निरन्तरता दिन्छ भन्ने कुराको सङ्केत दिनेछ, जसले विश्वव्यापी राजनीति र सुरक्षामा दूरगामी प्रभाव पार्न सक्छ ।
यसअघि, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत अमेरिकाले इरानका प्रमुख आणविक केन्द्रहरू फोर्डो, नटान्ज र इस्फहानमा सफलतापूर्वक आक्रमण सम्पन्न गरेको दाबी गरेका थिए । उनले आक्रमणमा संलग्न सबै अमेरिकी विमानहरू सुरक्षित रूपमा इरानी हवाई क्षेत्रबाट बाहिर आइसकेको पनि जानकारी दिएका थिए ।
आक्रमणलाई ऐतिहासिक क्षणको संज्ञा दिँदै उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘यो संयुक्त राज्य अमेरिका, इजरायल र सम्पूर्ण विश्वका लागि एक ऐतिहासिक क्षण हो,’ उनले इरानलाई चेतावनी दिँदै थपे, ‘इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्छ ।’ ट्रम्पको यो घोषणा र सम्भावित सम्बोधनले अन्तर्राष्ट्रिय समुदायमा हलचल मच्चाएको छ ।