चितवन / भरतपुरको सिजी ल्याण्डमा रहेको पपुलर जागरण प्रालिले प्रथम स्थापना दिवसको अवसर पारेर १०१ जनालाई निःशुल्क सिपमुलक तालिम प्रदान गर्ने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन मार्फत् कपाल काट्ने, कपडाको झोला बनाउने, टपरी बुन्ने र लागुऔषध दुव्र्यसनी सम्बन्धि सचेतनामुलक तालिम दिन लागेको प्रालिका सञ्चालक तथा अध्यक्ष रामप्रसाद सिग्देलले जानकारी दिए ।
सिग्देलका अनुसार कपाल काट्ने तालिम २१ जना, उद्घोषण तालिम २० जना, कपडाको झोला बनाउने तालिम २०, टपरी बुन्ने तालिम २० जना र लागुऔषध दुव्र्यसनीबाट बच्ने तालिम २० जना भन्दा बढीलाई दिइने छ । सरकारी विद्यालयमा पढ्ने बालिकाहरुलाई टपरी बुन्ने तालिम दिइने उनको भनाइ छ ।
- ADVERTISEMENT -

‘बालबालिकादेखि विदेश गएर फर्किएका युवायुवतीहरुलाई लक्षित गरी हामीले तालिम दिन लागेका हौँ’, उनले भने, ‘सबै तालिमहरु हामीले एक महिनाभित्र दिइसक्छौँ ।’ ९० घण्टा लामो कपाल काट्ने तालिम एक महिनामा सक्ने लक्ष्य रहेको उनले बताए ।
‘मैले विगत देखिनै युवाहरुलाई स्वरोजगार बनाउने हेतुले सिपमुलक कार्यक्रम गर्दै आएको छु । अहिलेसम्म ११० जनालाई निःशुल्क रुपमा कपाल काट्ने सिप सिकाइसकेको छु । व्यवसायिक रुपमा शुल्क लिएर पाँच हजार भन्दा बढीलाई सिप सिकाएको छु’, उनी भन्छन्, ‘भरतपुर महानगरका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवायुवतीहरुलाई सिप सिकाउन मैलै कम्पनी दर्ता गरेको हुँ ।’
तालिमहरु सम्पन्न गर्न दुई लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए । ‘आम्दानीको १० प्रतिशत रकम सामाजिक काममा लगाउनुपर्छ भन्ने मेरो धारणा छ । सोहि रकम सिपमुलक तालिममा खर्च गर्न लागिएको हो’, उनले भने । व्यवसायिक रुपमा कपाल काट्ने तालिम लिने एक जनाबाट ३० हजार रुपैयाँ शुल्क लिने गरिएको उनी बताउँछन् ।
सामाजिक व्यक्ति समेत रहेका सिग्देलले आफ्नो जन्मदिन र संस्थाको स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा ३८ जनाले रक्तदान गरेको सिग्देलले बताए । आफ्नो ३८औँ जन्मोत्सवको अवसरमा लक्ष्य अनुसार नै रक्तदान भएको उनको भनाई छ । रक्तदान कार्यक्रमलाई रेडक्रसले प्राविधिक सहयोग गरेको हो ।


















































