काठमाडौँ / नेपाली राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पाहुना टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले हार्दिक स्वागत गरेका हुन् ।
नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खे ल आगामी शनिबार हुनेछ भने दोस्रो खेल मङ्गलबारका लागि तय गरिएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५स्३० बजे सुरु हुनेछन् । यी खेलहरूले दुवै टोलीलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारीका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
- ADVERTISEMENT -

बङ्गलादेशी टोलीले आफ्नो अभ्यास सत्रका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र च्यासलस्थित च्यासल मैदान प्रयोग गर्नेछ । यसले खेलाडीहरूलाई नेपालको हावापानी र मैदानसँग घुलमिल हुन मद्दत पुग्नेछ ।
प्रतियोगिताका लागि टिकट बिक्रीको सम्पूर्ण अधिकार एन्फाले आफैँसँग राखेको छ। एन्फाले भीआईपी प्यारापिटतर्फको टिकट दर १ हजार रुपैयाँ तोकेको छ भने साधारण प्यारापिटमा बसेर खेल हेर्न चाहने दर्शकहरूका लागि ५ सय रुपैयाँको टिकट व्यवस्था गरेको छ ।























