२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एमाले सचिवालय बैठकमा ओलीको राजीना माग, संसद पुनःस्थापनामा चर्को मतभेद

प्रकाशित मिति : २०८२ आश्विन २५ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र आन्तरिक किचलो चुलिएको छ । शुक्रबार बसेको ५८औँ सचिवालय बैठकमा सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गर्दै संसद पुनःस्थापनाको विषयमा पनि चर्को मतभेद प्रकट गरेका छन् । करिब ६ घण्टा लामो बैठकले पार्टीभित्रको विभाजनलाई छताछुल्ल पारेको छ ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरू बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले आ(आफ्नो धारणा राखेका थिए । नेतृत्व परिवर्तनको माग गर्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले त स्पष्ट शब्दमा अध्यक्ष ओलीको राजीनामा नै माग गरेको एक सचिवालय सदस्यले बताए । ‘युवाहरूको आन्दोलन, विद्रोहको भावनालाई आत्मसात् गर्दै पार्टी पुनर्गठनको दिशामा जानुपर्छ । पार्टी पुनर्गठनसँगै नेतृत्व पुनर्गठन पनि हुनुपर्छ,’ शाक्यको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘पार्टी अध्यक्षले राजीनामा दिनुपर्छ ।’

- ADVERTISEMENT -

Advertisement

त्यस्तै, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि ‘राजीनामा’ शब्द प्रयोग नगरे पनि ओलीको नेतृत्वमा पार्टी आन्दोलन अघि बढ्न नसक्ने भन्दै उनले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिएका थिए । संस्थापन इतर समूहले गुरू बरालबाहेक सबै उपाध्यक्षको मत पार्टी पुनर्गठनकै पक्षमा रहेको दाबी गरेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘पार्टी पुनर्गठन आजको अहम् प्रश्न’ भएको बताए भने, उपाध्यक्ष विष्णु पौडेल र रामबहाुर थापा ‘बादल’ले पनि पार्टी आन्दोलनको पुनर्गठन अपरिहार्य रहेको र त्यसका लागि नेतृत्व पुनर्गठनको खाँचो औंल्याएको नेताहरुको भनाई छ ।

यद्यपि, अध्यक्ष ओलीनिकट पदाधिकारीहरूले उपाध्यक्ष शाक्यबाहेक अरूले राजीनामा माग नगरेको जिकिर गरेका छन् । महासचिव शंकर पोखरेलले पनि संकटमा नेतृत्व भाग्न नमिल्ने धारणा राख्दै नेतृत्वले चुनौती सामना गर्नुपर्ने बताए ।
केही सदस्यहरूले त ईश्वर पोखरेललाई कार्यवाहक अध्यक्ष तोकेर महाधिवेशनमा जानुपर्ने वा छिटो महाधिवेशन गरी नेतृत्व पुनर्गठनको प्रश्न निरूपण गर्नुपर्ने विकल्प पनि सुझाएका थिए ।

संसद पुनःस्थापनामा सचिवालय विभाजित
अध्यक्ष ओलीले बैठकको प्रारम्भमै संसद पुनःस्थापनाको मुद्दामा पार्टी अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक बाटोबाट बनेकाले मुलुकलाई विधिमा फर्काउन संसद पुनःस्थापना विकल्पहीन बाटो भएको उनको तर्क थियो ।

ओलीनिकट स्रोतका अनुसार, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले मात्र संसद पुनःस्थापनाको पक्षमा बलियो धारणा राखेका छन् । उनीहरूले कार्की नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने र मुलुकलाई प्रणालीमा हिँडाउन नसक्ने भन्दै संसद पुनःस्थापनातर्फ जानुपर्नेमा जोड दिए ।

तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले संसद पुनःस्थापनाको बाटो समात्दा पार्टी आन्दोलन झनै रक्षात्मक हुने र मुद्दा स्थापित गर्न गाह्रो हुने बताएका थिए। विष्णु पौडेल लगायत केही सदस्यले भने चुनावको सर्त र संसद पुनःस्थापनाको विषय सँगै लगेर निर्वाचन नहुने परिस्थितिमा त्यता लाग्दा पार्टीको पक्षमा माहौल बन्न सक्ने धारणा राखेका थिए । एक नेताका अनुसार, अध्यक्ष ओली नेपाली कांग्रेसको निर्णय पर्खिएजस्तो देखिएको र कांग्रेसले कसरी छलफल संगठित गर्छ, एमालेले सोही आधारमा निर्णय गर्ने देखिन्छ ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयले पनि प्रवेश पाएको थियो । गुरू बराल र अष्टलक्ष्मी शाक्यबाहेक अधिकांश सदस्यले भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने धारणा राखे । ‘विद्या भण्डारीको सदस्यता रोक्दा पार्टी पंक्तिमा निराशा छाएको छ । पार्टीको लोकतान्त्रिक चरित्रमा प्रश्न उठेको छ। संविधान, पार्टी विधानले नरोकेको कुरा पार्टी निर्णयबाट रोक्न मिल्दैन, उहाँलाई सदस्यता दिइनुपर्छ,’ एक नेताले भने ।

गत साउनमा बसेको केन्द्रीय समिति बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । यसअघि भदौमा बसेको सचिवालय बैठकमा पनि ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, रामबहादुर थापा ‘बादल’, योगेश भट्टराई र गोकर्ण विष्टले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताएका थिए । एमाले सचिवालय बैठक शनिबार पनि जारी रहनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -