काठमाडौं / आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल आफ्नो विश्वकप यात्रा लगभग सुनिश्चित गर्ने लक्ष्यका साथ कतारसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको नेपालले यसअघि नै समूह ‘ए’ को विजेता संयुक्त अरब इमिरेट्स (यूएई) लाई रोमाञ्चक खेलमा १ रनले पराजित गर्दै महत्वपूर्ण ४ अंक जोडेको छ । आज (सोमबार) राति ८ः४५ बजे ओमानमा हुने खेलमा अंकविहीन कतारमाथि जित निकाल्दै नेपाल २०२६ को टी–२० विश्वकपमा आफ्नो स्थान पक्का गर्ने दाउमा छ ।
- ADVERTISEMENT -

सुपर सिक्सको अंकतालिकामा नेपाल र ओमान समान ४–४ अंकका साथ क्रमशः दोस्रो र शीर्ष स्थानमा छन् । उत्कृष्ट रनरेटका कारण ओमान पहिलो स्थानमा रहँदा नेपालले दोस्रो स्थान सुरक्षित गरेको छ । २–२ अंक जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने कतार र सामाओ अझै खाता खोल्न सकेका छैनन् ।
नेपालका लागि कतारविरुद्धको खेल विश्वकप प्रवेशको लागि निर्णायक मोड बन्न सक्नेछ । कतारमाथि सहज जित निकाल्न सकेमा नेपालको शीर्ष तीनभित्र पर्ने सम्भावना झन्डै शतप्रतिशत हुनेछ । सुपर सिक्समा नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्न बाँकी छ ।
नेपालको आगामी खेल तालिका :
सोमबार (असोज २७) : नेपालविरुद्ध कतार (राति ८ः४५ बजे)
बुधबार (असोज २९) : नेपालविरुद्ध ओमान
शुक्रबार (असोज ३१) : नेपालविरुद्ध सामाओ
सुपर सिक्समा सहभागी ६ टोली (नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओ) मध्ये शीर्ष तीनमा रहने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा सिधा स्थान बनाउनेछन् । नेपालका लागि आजको खेल विश्वकप सपना साकार पार्नका लागि महत्वपूर्ण खुड्किलो साबित हुने अपेक्षा गरिएको छ ।























