काठमाडौं / उत्तरी अफगानिस्तान सोमबार मध्यराति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पले थर्कियो । मजार–ए–शरीफ नजिकै केन्द्रबिन्दु बनाएर गएको यस भूकम्पले जनधनको क्षति पुर्याउनुका साथै ऐतिहासिक महत्वका संरचनाहरूमा समेत असर पुर्याएको छ । अमेरिकी भू–वैज्ञानिक सर्वेक्षण (युएसजिएस) का अनुसार, बाल्ख प्रान्तको खुल्म सहर नजिक करिब २८ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रबिन्दु थियो ।
बाल्खका गर्भनरका प्रवक्ता हाजी ज़ैदले प्रारम्भिक विवरणमा कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले भने, ‘हामीले ठूलो आर्थिक र जनधनको क्षति भोगेका छौं । धेरै मानिस घाइते भएका छन् ।’ अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले पनि देशका धेरै प्रान्तहरू भूकम्पबाट प्रभावित भएको जनाएको छ ।
- ADVERTISEMENT -

भूकम्पको सबैभन्दा चिन्ताजनक पक्षमध्ये एक मजार(ए(शरीफस्थित ऐतिहासिक ब्लू मस्जिदमा पुगेको क्षति हो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा मस्जिदको आँगनमा ढुंगामाटो र भग्नावशेषहरू छरिएका देखिन्छन् । इस्लामका चौथो खलिफा र पैगम्बर मोहम्मदका ज्वाइँ हजरत अलीको समाधिस्थल मानिने यो मस्जिदमा क्षति पुग्नुले सांस्कृतिक र धार्मिक दुवै क्षेत्रमा गहिरो असर परेको छ ।
मजार–ए–शरीफकी पूर्व शिक्षिका रहिमाले भूकम्प आउँदा आफू र आफ्ना छोराछोरी डराएर घरबाट बाहिर निस्केको बताइन् । ‘मैले यति शक्तिशाली कम्पन पहिले कहिल्यै महसुस गरेकी थिइनँ,’ उनले सिएनएनसँग भनिन् । अफगानिस्तान भूकम्पीय जोखिमको उच्च क्षेत्रमा पर्छ । गत अगस्टमा पूर्वी भागमा गएको ६ म्याग्निच्युडको भूकम्पले २,२०० जनाको ज्यान लिएको थियो भने २०२३ अक्टोबरमा पश्चिमी अफगानिस्तानमा गएको ६।३ म्याग्निच्युडको भूकम्पमा २,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो । गएरातिको भूकम्पपछि कम्तीमा पाँचवटा पराकम्प महसुस गरिएका छन्, जसमध्ये सबैभन्दा ठूलो ५।२ म्याग्निच्युडको थियो ।
भूकम्पको कम्पन छिमेकी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसम्म पनि महसुस गरिएको युएसजिएसले जनाएको छ । युएसजिएसले आर्थिक र मानवीय क्षतिको उच्च सम्भावना औंल्याउँदै ‘ओरेन्ज अलर्ट’ जारी गरेको छ । यसले थप जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ ।
























