– बबिलाल तामाङ
देवघाट । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले समग्र देवघाट क्षेत्रको सामाजिक, धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई बाहिर ल्याउनमा फोनिज चितवनले विशेष भूमिका खेलेको बताएका छन् ।
आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को शुुक्रबार आयोजित एघारौं साधारण सभा तथा वनभोज कार्यक्रममा अध्यक्ष मगरले सो बताएका हुन् ।
- ADVERTISEMENT -

फोनिजका पत्रकार साथीहरु बेलाबेला गाउँमा आगमन हुने यस गाउँपालिकाको विषयवस्तुलाई पनि सञ्चारमाध्यमद्वारा स्थान दिँदै देवघाटको परिचय फराकिलो बनाइदिएको उनको भनाइ थियो ।
उनले फोनिज चितवनसँगको सहकार्य विगतदेखि रहँदै आएको र आगामी दिनहरुमा पनि रहने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का सङ्घीय सचिव सन्दीपकुमार श्रेष्ठले आदिवासी जनजातिका मुद्धाहरुलाई सार्वजनिक गर्न फोनिजको दायित्व रहेको बताए ।
नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारीले नेपालको राजनैतिक परिवर्तनमा आदिवासी जनजाति समुदायको योगदान उच्च रहेको बताए । उनले प्रथम शहीद लखन थापामगर नै देशको पहिलो शहीद भएको बताउँदै समाज रुपन्तरणको लागि आदिवासी जनजातिको भूमिका सदैव अग्रणी स्थानमा रहेको उल्लेख गरे ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष सागर कुमालले फोनिजकर्मीको उपस्थितिले आदिवासी जनजाति समुदायको सञ्चारमाध्यममा राम्रै प्रभाव रहेको बताए । हिजोका दिनमा आदिवासी जनजातिका आवाजलाई बाहिर ल्याउनै समस्या बताउँदै आज हाम्रो आवाज उठाउन हाम्रै समुदाय सक्षम भइसकेको उनको भनाइ थियो । फोनिजकर्मीको उपस्थिति सिङ्गो आदिवासी जनजातिको लागि ज्यादै महत्त्वपूर्ण विषय भएको उनले प्रष्ट पारे ।
तीन पत्रकारसहित दुई संस्थालाई सम्मान
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले एघारौं साधारण सभाको अवसर पारेर तीन जना पत्रकारसहित दुई संस्थालाई सम्मान गरिएको छ ।
कार्यक्रममा चितवन पोष्ट दैनिकका दिलीप केसी, नारायणी अनलाइनका घना गुरूङ र खेलपाटी डटकमकी आश्मा लाईलाई सम्मान गरिएको हो ।
यस्तै, सोही अवसरमा आदिवासी जनजाति समुदायबाट सञ्चालित सञ्चारगृहको रूपमा सेतो नेपाल डटकम र संस्थागत विकासमा योगदान दिएको भन्दै देवघाट गाउँपालिकालाई सम्मान गरेको छ ।
लामो समयदेखि काम गर्दै आएका तर, ओझेलमा रहेका सञ्चारकर्मीलाई सम्झिने प्रयास गर्दै आएको फोनिज चितवनका अध्यक्ष तुलमान गुरूङले जानकारी दिए ।
फोनिज चितवनले यस वर्षदेखि आदिवासी जनजाति समुदायबाट सञ्चालित सञ्चारगृहलाई पनि समेट्ने प्रयास गरिएको छ ।
कार्यक्रममा फोनिज चितवनको संस्थागत विकासमा आर्थिक सहयोग गरेका व्यक्तिहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।
वनभोजसहित आयोजना गरिएको साधारण सभामा फोनिज चितवनका सचिव आशिक रानामगरले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको छ ।
फोनिज चितवनका अध्यक्ष तुलमान गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । चितवनमा फोनिजको स्थापना करिब डेढ दशक भएको छ भने हाल संस्थामा सय बढी आदिवासी जनजाति पत्रकारहरु आवद्ध रहेका छन् ।















































