भरतपुर / चितवनको नारायणी नदी किनारमा बिहीबार राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर नारायणी नदी किनारमा दीप पज्वलनसँगै गङ्गा महाआरतीको पूजा अराधना गरिएको हो ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालयका चितवनका प्रमुख जिल्ला अधिकरी गणेश अर्यालले राजनीतिक दल र सञ्चार क्षेत्र परिष्कृत हुन आवश्यक रहेको बताए । प्रजातन्त्र स्थापना भएको वर्षौ भइसक्दा पनि नागरिकका समस्या उस्तै देखिनु र नागरिकबाट अपेक्षा बढ्दै जानुले यी दुवै क्षेत्र बढी जिम्मेवार बन्न आवश्यक रहेको उनको भनाइ थियो ।
- ADVERTISEMENT -

‘प्रश्न र प्रतिक्रिया आएन भने लोकतन्त्र खतरामा पर्ने बताउँदै राजनीतिक दल र सञ्चार जगत् परिष्कृत हुनुपर्नेमा उनको जोड थियो । ‘निर्वाचन आउँदै गर्दा दलहरुले आमजनतालाई मतदाता मात्र नभई भगवान् हुन् भन्ने कुरा बिर्सन हुँदैन ।’ उनले भने, ‘नेपालको सनातन धर्म र संस्कारसँग आरती जोडिएको हुँदा यसपटकको प्रजातन्त्र दिवस कार्यालयभन्दा बाहिर आएर गङ्गा महाआरतीमार्फत मनाइएको हो ।’
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीले प्रजातन्त्र र लोकतन्त्रलाई संस्थागत गर्नका लागि नागरिक समाज र नागरिक अगुवाहरुको खबरदारी कम भएको बताए । पत्रकार तथा सञ्चार क्षेत्रले मात्रै खबरदारी गरेर नपुग्ने हुँदा सक्ने र बुझ्नेजति सबैले आआफ्नो स्थानबाट खबरदारी गरिरहनुपर्ने अध्यक्ष पराजुलीको भनाइ थियो ।
श्री १००८ स्वामी विमलानन्द सरस्वती महाराजले सुख, शान्तिका लागि अध्यात्म चाहिने बताउँदै अध्यात्मका लागि नारायणीमा गङ्गा महाआरती आवश्यक रहेको बताए । ‘भक्ति र वैराग्यमिश्रित नारायणीमा गङ्गा महाआरती गर्दा सबै प्राणी जगत्लाई फाइदा पुग्छ, पुण्य मिल्छ’, उनले भने, ‘आध्यात्मिक कार्यले सबैको जीवन मङ्गलमय बन्छ ।’
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शहीदहरुको सम्मानसँगै पुण्यकार्यमा सहभागी गराउने प्रयास गरिएको बताए ।
गण्डकी नारायणी महाआरतीका संयोजक प्रेमनिधि भारद्वाजले २०७६ वैशाख १ गतेदेखि नियमित हुँदै आएको महाआरतीलाई भरतपुर महानगरपालिकाले जिम्मेवारी लिइदिन अनुरोध गरे । महाआरतीका लागि व्यवस्थित घाट आवश्यक रहेको बताउँदै त्यसतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने सुझाव उनले दिए ।
मौलिक धर्म र संस्कृतिको रक्षार्थ स्थानीय सरकारले चासो देखाउन आवश्यक रहेको उनले बताए । ‘हामीले आरती सञ्चालनका लागि कसैसँग चन्दा माग्न हिँडेका छैनौँ । आरतीस्थलमै जम्मा हुने दान रकमले खर्च व्यवस्थापन गरिरहेका छौँ’, उनी भन्छन्, ‘बाहिरी जिल्लाका स्थानीय तहहरुले पनि बेला–बेला आरती गरेर खर्च व्यवस्थापन गरिदिएका छन् ।
त्यसकारण भरतपुर महानगरपालिकाले यस विषयमा बढी चासो लिनुपर्छ ।’ नदीकिनारमा नियमित हुँदै आएको महाआरतीमा बिहीबार प्रजातन्त्र दिवस समारोह समितिले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा १००८ वटा दीप प्रज्वलन गरेको हो ।

















































