काठमाडौं / प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामअनुसार देशभरको चुनावी सरगर्मी थप बढेको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म २८ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।
सार्वजनिक नतिजाअनुसार नयाँ शक्ति (राष्ट्रिय स्वतन्त्र पार्टी)ले पुराना राजनीतिक दलहरूको ‘किल्ला’ मानिएका क्षेत्रहरूमा अनपेक्षित जित निकाल्दै आफ्नो बर्चस्व कायम गरेको छ । ३० मध्ये २१ क्षेत्रमा जित हासिल गर्दै रास्वपा पहिलो स्थानमा देखिएको छ ।
- ADVERTISEMENT -

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं, कास्की, मोरङ र तराईका जिल्लाहरूमा प्रभावशाली जित निकालेको छ । पछिल्लो अपडेटअनुसार महोत्तरी–१ मा रास्वपाका प्रमोदकुमार महतो निर्वाचित भएका छन् । उनले ३४ हजार ६२६ मत प्राप्त गर्दै नेकपाका प्रभावशाली नेता गिरिराजमणि पोखरेललाई पराजित गरे । त्यस्तै, बाँके क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनार २९ हजार ५५१ मतका साथ विजयी भएका छन् । उनले नेकपा एमालेका सुमन मल्ल र नेपाली कांग्रेसका अमर सिंह पुनलाई पछि पारे ।
रास्वपाबाट विजयी उम्मेदवारहरूमा धनुषा–३ : मनिष झा, मोरङ–६ : रुबिना आचार्य, काठमाडौं–५ : सस्मित पोखरेल, काठमाडौं–४ : पुकार बम, काठमाडौं–१ : रञ्जु दर्शना, काठमाडौं–९ : डोलप्रसाद अर्याल, काठमाडौं–८ : विराजभक्त श्रेष्ठ, काठमाडौं–६ : शिशिर खनाल, काठमाडौं–३ : राजुनाथ पाण्डे, काठमाडौं–१० : प्रदीप विष्ट, कास्की–३ : बिना गुरुङ, कास्की–२ : उत्तमप्रसाद पौडेल, मोरङ–४ : सन्तोष राजवंशी, बाँके–१ : सुरेशकुमार चौधरी, स्याङ्जा–१ : धनञ्जय रेग्मी, रुपन्देही–४ : कन्हैया बनियाँ, बाँके–३ : खगेन्द्र सुनार, महोत्तरी–१ : प्रमोदकुमार महतो, चितवन–२ : रवि लामिछाने रहेका छन् ।
नेपाली कांग्रेसले हालसम्म ५ वटा क्षेत्रमा जित निकालेको छ । तेह्रथुममा सन्तोष सुब्बाले नेकपा एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै जित निकाले । अन्य विजेताहरूमा मुस्ताङ–१ बाट योगेश गौचन थकाली ९लगातार दोस्रो पटक०, रसुवा–१ बाट मोहन आचार्य ९तेस्रो पटक०, र मनाङ–१ बाट टेकबहादुर गुरुङ रहेका छन् । दैलेख–१ मा बासना थापाले कांग्रेसका लागि ऐतिहासिक जित दिलाएकी छिन् ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व–१ बाट निर्वाचित भएका छन् । पुराना शीर्ष नेताहरूमध्ये जित हासिल गर्ने उनी अहिलेसम्मका एक्ला नेता हुन् । त्यस्तै, कालिकोट–१ बाट महेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । नेकपा एमालेले हालसम्म बाँके–२ बाट मात्र जितको खाता खोलेको छ । एमालेका उम्मेदवार मोहम्मद ईश्तियाक राई २४ हजार ६२६ मतका साथ विजयी भएका हुन् ।
















































