चितवन / भरतपुर–२१, रामपुरमा गत भाद्र १० गते रसुवा, टिमुरे, नुवाकोट, बेत्रावती र बेनीघाट क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष मणिमोलाम, दीप प्रज्वलन गरिएको छ ।
महाबौद्ध संघ–नेपालको आयोजना एवम् भरतपुर–१५ रामपुरस्थित कर्म देछेन छोखर लिङ बौद्ध गुम्बाको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । महाबौद्ध संघ नेपालका अध्यक्ष मेकना तामाङका अनुसार गुम्बा परिसरमा बौद्ध परम्पराअनुसार विशेष मणिमोलाम पाठ गरी दिवङ्गत पुण्य आत्माहरूको चिरशान्ति, सुगति र सद्गतिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।
- ADVERTISEMENT -

कार्यक्रममा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गरिएको थियो । प्राकृतिक विपत्तिका बेला सबैले करुणा, सद्भाव र सामाजिक एकता कायम राख्नुपर्ने अध्यक्ष तामाङको अपिल थियो ।
महाबौद्ध संघ–नेपालले बौद्ध धर्म र संस्कारको संरक्षणसँगै मानवीय संवेदना, विपद् व्यवस्थापनमा सहकार्य र सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता आध्यात्मिक एवम् सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको छ ।
कार्यक्रममा चितवनका विभिन्न गुम्बाका पदाधिकारी, माणि आमा समूहका प्रतिनिधि, बौद्ध धर्मावलम्बी तथा स्थानीय समाजसेवीहरू लगायतको उपस्थिति रहेको थियो ।
















































